बलिउड अभिनेत्री कंगना रनावत अभिनीत फिल्म ‘तेजस’सँग प्रतिस्पर्धाको मैदानमा उत्रिएको विधु विनोद चोपडा निर्देशित फिल्म ‘१२औं फेल’ बक्स अफिसमा राम्रो अंकसहित पास भएको छ । सशक्त ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापार बढेको मात्र छैन, यस वर्षको हिट सावित भैसकेको छ । जम्मा ५ करोड भारुमा निर्माण भएको फिल्मको व्यापार दोस्रो हप्तामा थप बढेको अवस्था छ ।
फिल्मले पहिलो हप्ता १३ करोड (विकेन्डमा ६ करोड ७० लाख) कमाएको थियो । दोस्रो हप्ताको विकेन्डमै फिल्मले ८ करोड बढी छापेको छ । फिल्मले दोस्रो हप्ताको शुक्रबार १ करोड ७५ लाख, शनिबार ३ करोड ४० लाख र आइतबार ३ करोड ३० लाख गरि ८ करोड ४५ लाख कमाएको छ । फिल्मको कमाई २१ करोड २५ लाख पुगेको ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् ।
वास्तविक घटनामा आधारित भएर बनेको फिल्मले त्यो लाखौं विद्यार्थीको संघर्षलाई दर्शाउँछ, जो यूपीएससी प्रवेश परीक्षा दिन्छन् । फिल्मको कथा मनोज (विक्रान्त मेस्सी)मा केन्द्रित छ, जो १२ कक्षाको बोर्ड परीक्षामा फेल हुन पुग्छ । असफलताका बावजूद हार नमानी उसले फेरि यूपीएससी परीक्षामा ध्यान दिन्छ । फिल्म हिन्दीसँगै तमिल, तेलुगु र कन्नड भाषामा पनि रिलिज भइसकेको छ ।