डेब्यू फिल्म ‘लुट’देखि नै निर्देशक निश्चल बस्नेतको सेन्सर बोर्डसँग ३६ को आँकडा छ । त्यसबेला बोर्डले फिल्मको थुप्रै दृश्य काट्न लगाउँदै कतिपय संवादमा विप राख्न निर्देशन दिएको थियो । फिल्मको सेन्सर नै रोकिएपछि निश्चलले बोर्डको निर्देशन मान्दै केही दृश्य काटे र केही संवादमा विप लगाए । तर पनि फिल्मले ‘एडल्ट’ सर्टिफिकेट पायो । त्यसबेला निश्चल बोर्डमाथि खनिएका थिए ।
दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’मा भने उनको सेन्सर बोर्डसँग लफडा परेन । फिल्म सजिलै सेन्सर पास भयो । तर, फेरि ‘लुट २’मा निश्चलले सेन्सरको हैरानी खेपे । उनले संवाद र दृश्य काटेर फिल्मलाई ‘एडल्ट’ सर्टिफिकेट दिए सर्वोच्च जाने चेतावनी दिएका थिए । तर, सेन्सर बोर्डले केही दोहोरो अर्थ लाग्ने र समाजमा अश्लिल मानिने केही दृश्य काटेर ‘पीजी’ सर्टिफिकेट थमाएको थियो ।
७ वर्षपछि निश्चल फिल्म ‘दिमाग खराब’बाट निर्देशनमा फर्किएका छन् । ‘लुट’को दुवै श्रृंखलामा सेन्सरको तनाब खेपेका उनको यो फिल्मलाई सेन्सर बोर्डले के गर्छ भन्ने चासो धेरैमा थियो । तर, कुनै दृश्य र संवादमा कैँची नचलाइ फिल्म सेन्सर पास भएको छ । साढे २ घण्टाको फिल्मलाई चलचित्र जाँच समितिले सबै उमेरका दर्शकहरुलाई हेर्न मिल्ने गरि ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ ।
यही शुक्रबार (कात्तिक २४ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्ममा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्की, राजन खतिवडा, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जनलगायतको अभिनय रहेको छ । रौनक बिक्रम कडेल निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।