‘सेलिब्रेटी पत्रकार’को छवि बनाएका ऋषि धमला फिल्मका निर्माता पनि हुन् । एलिजा गौतम (श्रीमती)लाई अभिनेत्री बनाउन उनले फिल्म ‘अनुराग’को निर्माण गरेका थिए । फिल्मको प्रचारमा समेत उनी राम्रै खटिए । फिल्म रिलिजपछि हलमा नेताको लर्को पनि लगाए । तर, फिल्म कमजोर हुँदा लगानीको एक तिहाई पनि उठ्न सकेन । न त एलिजाले अभिनयमा सम्भावना देखाउन सकिन् ।
‘अनुराग’ असफल भएपछि धमलाले अर्को फिल्म निर्माणको आँट गरेका छैनन् । तर, उनी आफू फिल्मबाट खासै घाटामा नगएको दाबी गर्छन् । फिल्म ‘दिमाग खराब’का निर्माता रौनक बिक्रम कडेल र अभिनेता सुमन कार्कीसँग अन्तर्वार्ताको क्रममा ‘अनुराग’को प्रशंग निस्किएपछि उनले भनेका थिए, ‘फिल्म बनाउँदा कहिले घाटा, कहिले नाफा हुन्छ । तर, म त्यति घाटामा गएको पनि हैन ।’
फिल्म ‘हाउ फन्नी’मा विशेष भूमिकामा अभिनय समेत गरिसकेका उनले फिल्म बनाउनु आफ्नो काम नभएको पनि बताए । फिल्म क्षेत्रमै समर्पित व्यक्तिले निर्माणलाई निरन्तरता दिनुपर्ने धमलाको आशय छ । अन्तर्वार्तामा सुमनले अर्को फिल्म निर्माणबारे सोधेको प्रश्नमा उनले तत्काल फिल्म निर्माण गर्ने सम्भावना नरहेको बताए । यद्यपि, फिल्म बनाउनु आफ्नो सौख रहेको उनको भनाई छ ।
धमला भन्छन्, ‘मैले तत्काल फिल्म निर्माण गर्ने सम्भावना छैन । मेरो फिल्म बनाउने सौख थियो, त्यो सौखलाई पनि मैले अहिलेलाई थाति राखेको छु ।’ सुमनले नेपाली फिल्ममा ऋषि धमला जत्तिको निर्माता भए आफूजस्ता कलाकारहरुले काम गर्ने अवसर पाउने भन्दै फिल्म निर्माणमा फर्किन आग्रह गरेका थिए । निर्माता कडेलले पनि ऋषि धमला जत्तिको निर्माता आवश्यक रहेको औंल्याए ।