सर्लाहीको बागमती नगरपालिकाका प्रमुख तथा माओवादी केन्द्रका नेता भरतकुमार थापाको कथामाथि फिल्म निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालले ‘मेयर’ शीर्षकमा थापामाथि फिल्म बनाउन लागेका हुन् । यतिबेला प्रि-प्रोडक्सनको काम भैरहेको फिल्मको छायांकन आगामी माघदेखि सर्लाही क्षेत्रमा हुने निर्देशक खनालले जानकारी गराएका छन् ।
दोस्रो कार्यकाल पनि मेयरमा विजयी भएका थापाले बागमतीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न झण्डै १२१ बिघा क्षेत्रफल जग्गामा ५८ करोड खर्च गरेर देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल (भरत ताल) बनाएका छन् । जुन अहिले मधेश प्रदेशको नै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ । उनको राजनीतिक संघर्ष र मेयर भएपछि गरेका कामलाई फिल्ममा उतारिने जनाइएको छ ।
फिल्मलाई सागर मैनाली र अर्विसा थापाले निर्माण गर्नेछन् । अर्विसा मेयर थापाकी आफ्नै छोरी हुन् । उनी माओबादी केन्द्रको युवा संगठन वाइसीएलको केन्द्रीय सदस्य समेत हुन् भने मोडलिङमा पनि सक्रिय छिन् । सागरसँग भने मेयर थापाको राम्रो मित्रता छ । उनी पेशाले व्यावसायी हुन् । यसरी हेर्दा मेयर थापाले आफ्नो काम देखाउन घरभित्रकै लगानीमा फिल्म बनाउन लागेको देखिन्छ ।
‘मेयर’को निर्देशनका लागि खनालले मोटो पारिश्रमिक लिएको स्रोत बताउँछ । उनले पहिलोपटक कुनै व्यक्तिको कथामाथि फिल्म बनाउन लागेका हुन् । यो फिल्मपछि उनी शर्मिला पाण्डेको निर्माणमा बन्न लागेको फिल्म ‘आमा २’को तयारीमा जुट्नेछन् । उनको ‘पाइपलाइन’मा ‘चङ्गा चेट २’ पनि छ । र, ‘पशुपति प्रसाद’को तेस्रो सिक्वेल पनि निर्माण हुँदैछ, जसलाई उनले नै निर्देशन गर्नेछन् ।