बलिउडका सुपरस्टार सलमान खान ६ वर्षदेखि ‘क्लिन हिट’ फिल्मको खोजीमा छन् । सन् २०१७ मा आएको फिल्म ‘टाइगर जिन्दा हे’पछि उनले सानदार हिट दिन सकेका छैनन् । जसले गर्दा उनको स्टारडममाथि समेत प्रश्न उठ्न थालेको छ । अब उनलाई ठूलो आशा भनेको लक्ष्मीपूजा (कात्तिक २६ गते)देखि प्रदर्शनमा आउन लागेको आफ्नो सफल फिल्म ‘टाइगर’को तेस्रो श्रृंखलाप्रति छ ।
कतिपयले यो फिल्मलाई उनको स्टारडमको परीक्षाको रुपमा लिएका छन् । ‘हिट’ फिल्मको श्रृंखला भएकाले फिल्मले व्यावसायिक सफलता हासिल गर्ने सम्भावना उच्च छ । तर, फिल्मलाई शुक्रबार नभइ आइतबार रिलिज गर्ने निर्णय नोक्सान सावित हुने देखिन्छ । आइतबार ‘लक्ष्मीपूजा’ भएकाले फिल्मको रात्रिकालिन शो भारतमा प्रभावित हुनसक्ने ट्रेड एनालिस्टहरुले आँकलन गरेका छन् ।
ट्रेड एनालिस्ट अतुल मोहनका अनुसार, फिल्म शुक्रबार रिलिज भएको हुन्थ्यो भने भारतमै ६० करोडमाथिको ओपनिङ गर्न सक्थ्यो । तर, लक्ष्मी पूजाको दिन रिलिज हुने हुँदा फिल्मको ओपनिङ ४० देखि ४५ करोड हुनसक्ने उनको आँकलन छ । लक्ष्मी पूजामा हल जानेभन्दा घरमा नै दीपावली मनाउनेको संख्या उच्च रहने हुँदा त्यसको असर फिल्मको ओपनिङमा पर्ने अतुलको भनाई छ ।
मोहनले भनेका छन्, ‘दीपावलीमा फिल्मको व्यापार कम हुन्छ । मानिसहरु हल जानुभन्दा घरमै बसेर दीपावली मनाउन रुचाउँछन् । त्यसले गर्दा साँझको शो प्रभावित हुनसक्छ । यद्यपि, जसलाई फिल्म हेर्नु छ, उनीहरु जुनसुकै हालतमा हल पुग्छन् ।’ फिल्मलाई भारतमा जारी क्रिकेट वर्ल्डकप पनि ठूलो चुनौती बन्नसक्ने उनको अनुमान छ । किनकि, अहिले भारतमा वर्ल्डकपको ‘फिभर’ छ ।
अर्का ट्रेड एनालिस्ट तरण आदर्शलाई पनि लक्ष्मी पूजाको दिन साँझ ५ देखि ९ बजेसम्म फिल्मको व्यापार प्रभावित हुन्छ भन्ने लाग्छ । यद्यपि, टिकट सुरक्षित गरिसकेका दर्शक भने हल जाने उनको विश्वास छ । फिल्मले ४५ करोडमाथि ओपनिङ गर्न सक्ने उनको अनुमान छ । समीक्षा राम्रो प्राप्त हुन सकेको परिस्थितिमा ५० करोडको आँकडा नघाउने सम्भावना पनि रहेको उनको भनाई छ ।
सलमानलाई ‘टाइगर ३’बाट आफ्नै फिल्मको सर्वाधिक ओपनिङको रेकर्ड तोड्नुपर्ने चुनौती छ । उनको करिअरको सबैभन्दा ठूलो ओपनिङ गरेको फिल्म ‘भारत’ हो, जसले ४२ करोड ३० लाख कमाएको थियो । ‘टाइगर ३’ले यो रेकर्ड भने तोड्न सक्छ । धेरैको चासो चाहिँ फिल्मले ‘पठान’को ५५ करोड र ‘जवान’को ६५ करोडको विशाल ओपनिङ रेकर्ड तोड्न सक्छ या सक्दैन भन्नेमा छ ।