नेपाली फिल्म क्षेत्रको नियगमन निकाय चलचित्र विकास बोर्डलाई सरकारमा पुगेको पार्टीले कार्यकर्ता भर्ती गर्ने केन्द्रको रुपमा मात्रै उपयोग गर्दै आइरहेका छन् । यतिबेला बोर्डको अध्यक्षमा नेपाली कांग्रेसबाट भुवन केसी र सदस्यहरुमा माओवादी निकट केएल बुढाथोकी, राजु केसी र रविचन्द्र अधिकारी छन् । भुवन कांग्रेस र तीन सदस्य माओवादी सरकारमा आएपछि नियुक्त भएका हुन् ।
गत भदौमा राष्ट्रपति कार्यालयमा भएको ‘राष्ट्रिय अवार्ड’मा जुरीबाट सिफारिस भएर पनि फिल्म ‘प्रकाश’लाई बोर्डले ‘उत्कृष्ट फिल्म’ घोषणा नगर्नुमा माओवादी कोटाका सदस्यकै हात रहेको देखिएको छ । ‘प्रकाश’को टिमले ‘उत्कृष्ट फिल्म’ घोषणा नगर्नुको कारण माग्दै गत असोज ४ गते उच्च अदालत पाटनमा बोर्डविरुद्ध दिएको रिट निवेदनमा बोर्डले पठाएको लिखित जवाफले यही बोल्छ ।
अध्यक्ष केसीले वारेसमार्फत् अदालतमा पठाएको जवाफमा ‘प्रकाश’लाई जुरीले उत्कृष्ट फिल्ममा सिफारिस गरेको तर बोर्ड सदस्य रविचन्द्र अधिकारीले उजुरी निवेदन दिएपछि गठित तीन सदस्यीय समितिले बुझाएको प्रतिवेदनको सुझावको आधारमा सर्वोत्कृष्ट फिल्मको विधा स्थगन गरिएको उल्लेख छ । रवि उनै हो, जो भरतपुरकी मेयर रेनु दाहालको जोडबलमा सदस्य बनेको बताइन्छ ।
सदस्य अधिकारीले ‘प्रकाश’ले देश र अहिलेको व्यवस्थाप्रति गलत व्याख्या गरेको भन्ने विषयमा आपत्ति जनाउँदै भदौ ७ गते उजुरी दिएको र त्यसपछि गठित समितिको निष्कर्ष तथा सुझावमा सर्वोत्कृष्ट फिल्मको अवार्ड प्रदान गर्ने कुनै तथ्य र आधार नदेखिएको बोर्डको जवाफमा उल्लेख छ । जुरीले ‘प्रकाश’लाई उत्कृष्ट फिल्म घोषणा गर्न गरेको निर्णय त्रुटिपूर्ण रहेको पनि बोर्डको दाबी छ ।
बोर्ड सदस्य अधिकारीले फिल्मप्रति आपत्ति जनाउँदै उजुरी दिनुमा माओवादी जोडिएको छ । ‘प्रकाश’ले माओवादी जनयुद्धपछिको अवस्थालाई चित्रण गरेको छ । जनयुद्धले व्यवस्था परिवर्तन गरे पनि अवस्था चाहिँ ज्यूँकात्यूँ छ भन्ने विषयमा फिल्म बनेको छ, जहाँ माओवादीको झण्डा पनि प्रयोग छ । हल रिलिजकै बेला एक माओवादी नेताले फिल्मको विषयप्रति गम्भीर आपत्ति जनाएका थिए ।
(उजुरीकर्ता तथा चलचित्र विकास बोर्डका सदस्य रविचन्द्र अधिकारी)
बोर्डले सरकारमा रहेको पार्टीको बचाउका लागि ‘प्रकाश’लाई उत्कृष्ट फिल्मको अवार्ड नदिएको देखिन्छ । संसारको कुनै अवार्डमा उत्कृष्ट फिल्म घोषणा नगरिएको इतिहास छैन । यो विधा निकै महत्त्वपूर्ण मानिन्छ । तर, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेझैँ बोर्डले सरकारमा रहेको पार्टीलाई ‘प्रकाश’ले गलत रुपमा ब्याख्या गरेको भन्दै मुख्य विधा नै हटाएर राम्रै गाईजात्रा देखाएको छ ।