जब फिल्म रिलिजको मुखमा हुन्छ तब कलाकारहरुले प्रचारका लागि कुनै ठाउँ बाँकी राख्दैनन् । आफूलाई उत्तिधेरै ज्ञान नभएको ठाउँमा समेत प्रचार गर्नुपर्ने बाध्यता हुन्छ । केही समययता नेपाली फिल्मको प्रचारका लागि ‘इन्द्रेणी’ नामक लोकदोहोरी कार्यक्रम निर्माताहरुको पहिलो प्राथमिकतामा परिरहेको छ । र, त्यहाँ पुगेर कलाकारहरुले कनीकुथी दोहोरोमा भाका हाल्ने प्रयास गर्छन् ।
यही कात्तिक २४ गतेबाट प्रदर्शन थाल्न लागेको फिल्म ‘दिमाग खराब’को प्रचारका खातिर अभिनेत्री स्वस्तिमा खड्का पनि ‘इन्द्रेणी’ पुगेकी छन् । आफ्नो अभिनयसँगै श्रीमान् निश्चल बस्नेतको निर्देशन रहेकाले फिल्मको प्रचारमा उनको राम्रै दौडधुप छ । ‘इन्द्रेणी’मा उनले दोहोरी कलाकार छत्र शाहीसँग करिब आधा घण्टा दोहोरी खेलेकी छन् । त्यसपछि फिल्मबारे पनि जानकारी गराएकी छन् ।
फिल्ममा अभिनय गर्ने कलाकारलाई दोहोरीमा लयबद्ध हिसाबले जवाफ फर्काउन आउने कुरै भएन । त्यसैले स्वस्तिमाले दोहोरीमा दख्खल कलाकारहरुको सहयोगमा ‘इन्द्रेणी’मा दोहोरी गाएकी छन् । उनले छेवैमा रहेका दुईजना लोकदोहोरी गायिकासँग पटक-पटक सल्लाह गर्दै दोहोरी गाएको प्रष्टै देखिन्छ । दोहोरीको कतिपय अन्तरा उनलाई छेवैमा बसेका दुई गायिकाले सिकाएका छन् ।
‘पानको पात’ गीतको लयमा स्वस्तिमाले केही अन्तरा आफैंले फुराएर गाएको पनि देखिन्छ । जसले लोकदोहोरीप्रति उनको अगाध रुचि देखाउँछ । उनले आफूले पहिलोपटक लोकदोहोरी गाएको बताइन् । उनले ‘इन्द्रेणी’मा आएर दोहोरी गाउँदा आनन्द महसुस भएको अनुभव पनि सुनाइन् । सञ्चालक कृष्ण कँडेलको आग्रहमा उनले आफ्नो हिट गीत ‘कुटुमा कुटु’ समेत गुनगुनाएर सुनाइन् ।