मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

‘ए मेरो हजुर’ श्रृंखलाले थेगेको सलोनको करिअर

फिल्मीखबर, काठमाडौं, 2023/11/09

गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘जय हो’को बेला अभिनेत्री केकी अधिकारीले सलोन बस्नेतलाई आफ्नो बाल्यकालको ‘चाइल्ड स्टार’ भनेकी थिइन् । हुन पनि सलोन त्यसबेलाका कुनै ठूला स्टारभन्दा कम लोकप्रिय थिएनन् । फिल्ममा उनी बाल कलाकारको भूमिकामा निर्विकल्पझैँ थिए । तर, उमेर बढेसँगै हिरोको रुपमा प्रस्तुत हुन थालेपछि उनले ‘स्टार’को छवि बनाउन सकेका छैनन् ।

सन् २०१३ मा आएको फिल्म ‘होस्टेल’बाट सलोनको हिरोको रुपमा डेब्यू भएको थियो । अनमोल केसीले पनि यही फिल्मबाट डेब्यू गरेका थिए । यो फिल्मपछि अनमोल ‘स्टार’को रुपमा उदाए । तर, सलोनले हिरोको रुपमा स्थापित हुन अझै संघर्ष गर्नुपरेको छ । ‘एउटा साथी’, ‘लभ सब’, ‘आधा पेज’, ‘बाबु कान्छा’ आदि फिल्ममा उनी हिरोको रुपमा प्रस्तुत नभएका हैनन् । तर, चल्न सकेनन् ।

 

Salon Basnet


उनले हिरोको रुपमा चल्न ‘जय हो’बाट एकपटक फेरि प्रयास गरे । उनका पिता शोभित बस्नेत फिल्मको प्रस्तुतकर्तामा थिए । तर, फिल्म आफैंमा कमजोर हुँदा उनको सपना पूरा हुन पाएन । यो फिल्म व्यावसायिक रुपमा सफल भैदिएको भए उनलाई सहायक चरित्रमा सीमित हुनुपर्ने बाध्यता हट्न सक्थ्यो । ‘जय हो’ यसमा असफल देखियो । बरु उनको फ्लप सूचीमा अर्को फिल्म थपियो ।

उनको करिअर कुनै फिल्मले थेगिरहेको छ भने त्यो ‘ए मेरो हजुर’को श्रृंखला हो । यसको दोस्रो श्रृंखलादेखि उनी टुटेका छैनन् । र, विगत ६ वर्षयता ‘ए मेरो हजुर’को श्रृंखला र ‘जय भोले’बाहेक उनले अभिनय गरेका कुनै फिल्म सफल छैनन् । यद्यपि, यो बीचमा आएका केही फिल्महरुमा उनको अभिनयको प्रशंसा नभएको होइन । तर, फिल्मै ‘डिजास्टर’ भएपछि प्रशंसा पनि छायाँमा पर्‍यो ।

‘जय हो’को असफलतापछि उनलाई फेरि सहायक चरित्रमै सीमित हुनुपर्ने परिस्थिति बनेको छ । उनी सहायक चरित्रमा रुचाइएका पनि छन् । फिल्ममा उनी भएपछि ‘लिड हिरो’ नै छायाँमा पर्छन् भन्ने विश्लेषण समेत हुन्छ । त्यो उनको अभिनयको खुबीले गर्दा हो । अब सलोनसामु सहायक चरित्रमै सीमित हुने या हिरोमै स्थापित हुन संघर्ष गर्ने भन्ने दुईटा विकल्प छ । निर्णय उनकै हातमा छ ।