‘लुट’बाट नेपाली फिल्मको ‘ट्रेन्ड सेटर’ निर्देशकको पहिचान बनाएका निश्चल बस्नेतले ६ वर्षपछि पुनरागमन गरेको फिल्म ‘दिमाग खराब’ले तिहारको छेको पारेर शुक्रबारबाट प्रदर्शन थालेको छ । निश्चलकै कारण ठूलो अपेक्षा राखिएको फिल्मले बक्स अफिसमा राम्रो अंक जोड्ने प्रक्षेपण गरिएको छ । देशभरका मल्टीप्लेक्सहरुले दिएको शोज हेर्दा फिल्मलाई बम्पर ओपनिङको अवसर छ ।
धेरै कोणबाट ‘दिमाग खराब’ निश्चलको परीक्षा समेत हो । ६ वर्षको अन्तरालमा नेपाली फिल्मको मेकिङ स्टाइलदेखि दर्शकहरुको चेतनास्तरमा राम्रै परिवर्तन आएको छ, जुन उनका लागि ठूलो चुनौती हो । त्यसमाथि ‘लुट’बाट उनले जुन विश्वास कमाए, त्यसले उनलाई औसत हुन पनि छुट दिँदैन । एक हिसाबले फिल्मको सृजनात्मक पक्षदेखि व्यावसायिक सफलतासम्म, उनकै काँधमा छ ।
यो फिल्ममा ‘स्टारकास्ट’ बलियो छ । खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल, पुष्कर गुरुङ, माओत्से गुरुङ, सुमन कार्कीजस्ता कहलिएका कलाकारहरु छन् । स्वयं निश्चल पनि छन् । त्यसैगरि, ट्रेलरले दर्शकमा एकखालको हुटहुटी जगाएको छ । र, गीतसंगीत पनि चर्चामा छन् । फिल्मको इनिसियल व्यापारमा यी तत्वको पनि ठूलो योगदान रहन सक्छ ।
रौनक विक्रम कडेल निर्माता तथा सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् । आकाश बरालको लेखन तथा मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको फिल्म राजनीतिक पृष्ठभूमिमा आधारित छ । आइतबारबाट बलिउडको ठूलो फिल्म ‘टाइगर ३’ आउन लागेका कारण ‘दिमाग खराब’लाई हलमा लामो यात्रा गर्न सानदार ‘वर्ड अफ माउथ’ अनिवार्य छ ।