मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रिमियरमा ‘दिमाग खराब’को प्रशंसा, रविले भने- ‘हेर्न छुटाउनै हुन्न’

फिल्मीखबर, काठमाडौं, 2023/11/10

निश्चल बस्नेतले झण्डै ६ वर्षपछि निर्देशनमा कमब्याक गरेको फिल्म ‘दिमाग खराब’को रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रिमियरमा फिल्मकर्मीदेखि राजनीतिकर्मीसम्मले प्रशंसा गरेका छन् । बिहीबार साँझ ललितपुरस्थित लबिम मलको क्यूएफएक्स हलमा भएको प्रिमियरमा प्रायःले फिल्मले उठान गरेको कथावस्तुको प्रशंसामा शब्द खर्चिए । फिल्म राम्रो बनेको अधिकांशको प्रतिक्रिया थियो ।

 

dimag kharab


हास्य कलाकार हरिवंश आचार्यले निश्चल बस्नेतले देशकै लागि फिल्म बनाएको भन्दै प्रशंसा गरे । उनले भने, ‘अहिले देशमा चरम निराशा र जनतालाई पीर परेको एउटै कारण छ, भ्रष्टाचार । भ्रष्टाचारलाई निर्मुल पार्नुपर्छ र भ्रष्टचारीलाई सत्तामा बस्न दिनु हुन्न भन्ने मूल मन्त्र आगामी चुनावमा लागू होस् । यो फिल्म निर्देशक र लेखकले देशकै लागि बनाउनुभएको हो । सबै दृष्टिकोणले राम्रो छ ।’

रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले फिल्म हेर्नैपर्ने बनेको दाबी गरे । ‘फिल्म हेर्न लायक मात्र होइन, हेर्नैपर्ने छ । यसरी नै फिल्म, संगीत, सर्ट फिल्मबाट मुलुकको अवस्था चित्रण गरेर परिवर्तन ल्याउन सकिन्छ । कसैले हेर्न छुटाउन नहुने फिल्म हो । र, कोही नछुटोस्,’ उनले भने । फिल्मले उठाएको कथावस्तुका कारण आफू प्रचारमा हिँड्न पनि तयार रहेको उनले बताए ।

‘समाजको आवश्यकतालाई फिल्मले सधैं प्रतिनिधित्व गरेको हुन्छ । बेला बखतमा यस्ता फिल्मले समाजमा परिवर्तन ल्याउन ठूलो भूमिका खेल्छ । ‘बलिदान’कै कुरा गर्नुस् या अहिले यो फिल्म,’ उनले अगाडि भने, ‘मैले अहिलेसम्म कुनै फिल्मलाई हेर्नैपर्छ भनेको छैन । यो फिल्म चाहिँ हेर्नैपर्छ भन्छु । सबैले हेर्नुपर्छ । यो फिल्मको प्रचारका लागि मलाई बोलाउनु हुन्छ भने पनि जान तयार छु ।’

 

dimag kharab (1)


राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन रोहित पौडेलले फिल्मले दिएको सन्देश मन परेको धारणा राखे । धेरैपछि नेपाली फिल्म हेर्न पुगेका उनले भने- ‘फिल्म रमाइलो लाग्यो । राम्रो बनेको छ । सन्देश राम्रो दिएको छ । अभिनय पनि सबै कलाकारको एकदमै राम्रो छ । मलाई दयाहाङ राई र अर्पण थापा दाईको अभिनय मनपर्‍यो ।’ पौडेलले आफू दयाहाङ राईको ठूलो ‘फ्यान’ रहेको समेत बताए ।

क्रिकेटर कुशल भुर्तेललाई पनि फिल्मले दिएको सन्देश मन परेको छ । अर्का क्रिकेटर सोमपाल कामीले फिल्ममा निश्चल बस्नेतको इन्ट्री बबाल लागेको सुनाए । ‘मलाई निश्चल दाईको इन्ट्री बबाल लाग्यो । म ठूलो फ्यान हुँ । फिल्मको कथा राम्रो छ । हामीजस्तो युवाले धेरै कुरा सिक्न पाउँछौं । जसरी हामी १० वर्षपछि विश्वकप पुथ्यौं, त्यसरी नै फिल्मले पनि सफलता प्राप्त गरोस्,’ उनले भने ।

प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना मगरले फिल्म समसामयिक विषयमा बनेको बताउँदै राम्रो सन्देश पनि दिएको बताइन् । अभिनेत्री प्रकृति श्रेष्ठले फिल्म हेर्नुपर्ने बनेको र धेरैपछि राम्रो फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । त्यसैगरि, अर्की अभिनेत्री शिल्पा मास्केले फिल्म राम्रो बनेको बताउँदै सन्देशमुलक पनि रहेको धारणा राखिन् । फिल्मले ‘बोर’ हुन नदिने उनको दाबी छ ।

 

dimag kharab


प्रिमियरमा मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित देखिएकी अभिनेत्री स्वस्तिमा खड्का यसपटक आफू निश्चलका लागि ‘नर्भस’ रहेको बताइन् । ‘निश्चलले इमानदारिताका साथ कथा भनोस् भन्ने थियो । र, धमाका पनि होस् भन्ने छ । किनकि, ऊप्रति मानिसको विश्वास छ । म फिल्म रिलिजको बेला धेरै तनाब नै लिन्नँ । तर, यसपटक म निश्चलका लागि एकदमै ‘नर्भस’ छु,’ उनले भनेकी छन् ।

निश्चलले भने आफूभित्र वर्षौंदेखि गुम्सिएको चीज र देखेका/भोगेका कुरालाई जोडेर कथा बनाएको बताए । उनले भने, ‘मैले एउटा इमानदार कथा भन्ने प्रयास गरेको हुँ । त्यो भन्दै गर्दा फिल्मले मनोरञ्जन पनि दिनुपर्छ । मनोरञ्जन दिएर आफ्नो उकुसमुकुस पोख्न सकिन्छ भने प्रयास गर्छु भने फिल्म बनाएको हुँ ।’ अबको जस्तो निर्देशनमा फर्किन धेरै समय नलगाउने पनि निश्चलको भनाई छ ।