करिब २ दशक अगाडिको सुपरहिट फिल्म ‘बादलपारी’को कालजयी गीत ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’लाई रिमेक गरेर निर्देशक दीपक श्रेष्ठले आफू निर्देशित नयाँ फिल्म ‘पर्खि बसेँ तिमीलाई’मा समावेश गरेका छन् । शुक्रबार सार्वजनिक गीतमा सुरेन्द्र राणाको शब्द रचना तथा शम्भुजित बाँस्कोटाको संगीत छ । रिमेक भर्सनमा प्रमोद खरेल र मिलन नेवारको स्वर रहेको छ ।
निर्देशक श्रेष्ठ भन्छन्, ‘यो विशुद्ध प्रेमकथामा बनेको फिल्म हो । त्यसैले यसको सुरुवात गीतमार्फत् गरेका छौँ । मैले निर्देशन गरेको ‘पर्खि बसेँ’मा झैँ यसमा पनि नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरुलाई फिल्म उद्योगले स्वागत गर्नेमा विश्वस्त छु ।’ यो फिल्मबाट किरण श्रेष्ठ र रक्षा बुढाथोकीले डेब्यू गर्दैछन् । निशा रसाइलीको कोरियोग्राफी रहेको गीतमा उनीहरु नै फिचरिङ छन् ।
शिव श्रेष्ठ, अनिशा रसाइली, विल्सन विक्रम राई, मनिष श्रेष्ठ आदिको पनि अभिनय रहेको फिल्ममा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, शम्भुजितसँगै दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, निशासँगै रामजी लामिछानेको नृत्य निर्देशन छ ।
निर्देशक श्रेष्ठले किरण र रक्षामा क्षमता देखेपछि डेब्यू गराएको बताएका छन् । फिल्ममा अहिलेको पुस्ताको प्रेमकथा रहेको उनको भनाई छ । आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने फिल्मलाई काठमाडौँमा रिच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछन् । रोमन फिल्मस् र तपश्री प्रोडक्सन (सिक्किम)को निर्माण रहेको फिल्मलाई नेपाल र सिक्किममा खिचिएको हो ।