निर्देशक निश्चल बस्नेतलाई अभिनय र गायनमा पनि रुचि छ । बेला बखतमा फिल्म र गीतमा त्यो प्रकट हुँदै आइरहेको छ । उनले ‘प्रसाद’, ‘दुई रुपैयाँ’ र ‘घामड शेरे’ जस्ता फिल्ममा मुख्य भूमिका नै निभाएका छन् भने उनको स्वरबद्ध ‘काले दाई’, ‘उध्रेको चोली’, ‘माया ओए ओए ओए’ जस्ता गीत चर्चित छन् । ६ वर्ष निर्देशनबाट टाढा रहँदा उनी अभिनय र गायनमा नै व्यस्त देखिएका थिए ।
निश्चलले निर्देशनमा कमब्याक गरेको फिल्म ‘दिमाग खराब’ (शुक्रबारबाट प्रदर्शित)मा पनि विशेष भूमिकामा अभिनय गरेका छन् । अर्थात् उनले आफैंलाई एक्सन-कट गरेका छन् । फिल्ममा उनले निभाएको चरित्रले कथालाई रोमाञ्चक बनाउँछ । र, नयाँ मोड दिन्छ । यद्यपि, आफ्नै चरित्रलाई स्थापित गर्न उनी चुकेका छन् । यसका बावजूद पनि उनको इन्ट्री हुँदा हिरोकै महसुस गराउँछ ।
बुझिएअनुसार उक्त रोल आफैं गर्ने सोचमा उनी थिएनन् । स्रोतका अनुसार, त्यसका लागि उनले ‘लुट’ अभिनेता सौगात मल्ललाई सोचेका थिए । तर, उनको अन्य फिल्ममा व्यस्तताका कारण निश्चल आफैंले काम गर्ने निर्णय गरे । भूमिका सानो भएको कारणले निर्देशनमा असर नगर्ने निष्कर्षपछि आफूले अभिनय गरेको उनले बिहीबार काठमाडौंमा आयोजित प्रिमियरमा पत्रकारसँग बताए ।
उनले भनेका थिए, ‘स्क्रिनप्लेअनुसार त्यहाँ आफू हुँदा ठीक हुन्छ जस्तो लागेर मात्र हो । धेरै सिन भएको भए म गर्दिन थिएँ होला । थोरै छ, यत्तिले सायद निर्देशकको भूमिकाबाट बाहिर उम्कन दिँदैन होला भन्ने लागेर मात्र गरेको हुँ ।’ निर्देशनमा फर्किन ६ वर्ष लगाएका उनी अब भने धेरै समय लगाउने पक्षमा छैनन् । नयाँ फिल्मका लागि स्क्रिप्टको काम सुरु भैसकेको उनले बताएका छन् ।