मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भष्मे डन’को कमाई ८ करोड हाराहारी, निर्माताको अपेक्षा थियो ३० करोड !

फिल्मीखबर, काठमाडौं, 2023/11/11

२०७२ सालमा आएको सफल फिल्म ‘पशुपति प्रसाद’को दोस्रो सिक्वेल ‘पशुपति प्रसाद २ : भष्मे डन’ दशैंको मौका पारेर फूलपाती (कात्तिक ४ गते)बाट प्रदर्शनमा आएको थियो । रिलिजपूर्व फिल्मको जबर्जस्त हाइप थियो । फलतः त्यसको प्रभाव ओपनिङमा पनि देखियो । तर, ‘वर्ड अफ माउथ’ नै मजबूत हुन नसक्दा दशैं विदा सकिएसँगै फिल्मको व्यापार पनि एकाएक खस्किन पुग्यो ।

चौंथो हप्तामा प्रदर्शनरत फिल्मले यो अवधिमा ८ करोड हाराहारी कमाई गरेको वितरक कम्पनी डिसिएनका प्रमुख अशोक शर्माले जानकारी गराएका छन् । फिल्मको चर्चाको हिसाबले यो अंक औसत हो । फिल्मले ‘कबड्डी ४’को २१ करोडको रेकर्ड तोड्न सक्ने प्रक्षेपण गरिएको थियो । झन् निर्माण टिमले त ३० करोड हाराहारीको अपेक्षा राखेको थियो । तर, यी दुवै कुरा सम्भव हुन सकेन ।

निर्देशक दीपेन्द्र के. खनाल भने पैसाका लागि ‘भष्मे डन’ नबनाएको दाबी गर्छन् । शुक्रबार फिल्मको चौंथो हप्ताको सेलिब्रेसनसँगै ‘पशुपति प्रसाद ३’ घोषणा कार्यक्रममा उनले भने- ‘पैसा मात्र ठूलो कुरा होइन । पैसा मात्रै भनेको भए हामीले धेरै पहिला नै फिल्म बनाइसक्थ्यौं । ७ वर्ष लाग्ने थिएन । र, ‘पशुपति प्रसाद’लाई हामी धेरै सस्तोमा बनाएर धेरै मुनाफा कमाउनेतिर पनि लाग्न सक्थ्यौं ।’

आफूहरुले फिल्म बनाउने बेलादेखि नै दर्शकलाई ढाट्नु हुँदैन भनेर कुनै कुरामा ‘कम्प्रमाइज’ नगरेको खनालको तर्क छ । ‘हामीले फिल्म बनाउने बेलादेखि नै दर्शकलाई छल गर्नु हुँदैन भनेर हरेक प्रयास गरेका थियौं । प्राविधिक पाटोमा समेत ‘कम्प्रमाइज’ नगरि साउन्डदेखि छायांकनसम्ममा ध्यान दिएका थियौं,’ दीपेन्द्रले भनेका छन्, ‘तर हामीले जुन आँकडा सोचेका थियौं, त्यो हुन सकेन ।’

 

Pashupati Prasad 2 ‘Bhasme Don’


उनी फिल्मलाई लिएर आएका प्रतिक्रियालाई ७० र ३० को आँकडामा विभाजित गर्छन् । ७० प्रतिशतले फिल्म मन पराएको उनको निष्कर्ष छ । ३० प्रतिशतमा १० प्रतिशतले ‘पशुपति प्रसाद’ अनुरुप नभएको प्रतिक्रिया दिएको र २० प्रतिशतले फिल्म अपेक्षाकृत नभएको भनेर गुनासो गरेको निर्देशक खनालको भनाई छ । यद्यपि, उनले हरेक प्रतिक्रियालाई स्वभाविक रुपमा नै लिएका छन् ।

‘यो कुराको आँकलन हामीले पहिल्यै गरेका थियौं । किनकि, दुई बन्ने वितिक्कै एकको छापलाई मेटाउन निकै गाह्रो हुन्छ । तर पनि हामीले दर्शकलाई छल गर्नु हुँदैन भनेर केहीमा ‘कम्प्रमाइज’ गरेनौं । फिल्मलाई लिएर आएका गुनासालाई हामीले ध्यानमा राखेका छौं,’ उनले भने । उनलाई सिक्वेल बनाउन हतार भयो भन्ने चाहिँ लाग्दैन । फिल्मलाई लिएर बहस गर्न समेत उनी तयार देखिन्छन् ।

‘हामीले दोस्रो सिक्वेल बनाउन हतार गरेका हैनौं । अहिले पनि त्यो फिल्म हेरेर बहस नै गर्ने हो भने पनि हामी तयार छौं । किनकि, त्यहाँ हाम्रो दृष्टिकोण छ । तर, कति कुराहरु दर्शकसँग नमिल्ने रैछ,’ उनी भन्छन्, ‘पशुपति प्रसाद’ भन्ने फिल्म ताजै भएकाले गर्दा त्यही दृष्टिकोणले ‘भष्मे डन’ हेर्न आउँदा चित्त नबुझेको हुनसक्छ । तर, ‘पशुपति प्रसाद’ र ‘भष्मे डन’ भनेका विपरित ध्रुवका हुन् ।’

‘पशुपति प्रसाद’मा सुरु गरेको कथालाई अन्त्य पनि गर्नुपर्छ भन्ने सोचले ‘पशुपति प्रसाद ३’ बनाउन लागेको पनि उनले स्पष्ट पारेका छन् । ‘हामीले ‘पशुपति प्रसाद २’मा जुन कथाहरु छाडेका थियौं, त्यसको अन्त्य पनि हामीले नै गर्नुपर्ने जिम्मेवारी हुन्छ । दर्शकले पनि त्यो कथाको अन्त्य खोजिरहेका छन्,’ उनले भने । ‘पशुपति प्रसाद ३’मा ‘पशुपति प्रसाद’को आत्मा भेटिने दीपेन्द्रको दाबी छ ।