चाडपर्वमा रौनकता थप्न गीतको ठूलो भूमिका रहन्छ । किनभने, चाडपर्वको माहोल र संस्कृति गीतले बोल्ने गर्छन् । एक हिसाबले गीतसंगीत बिना नेपालीहरुको चाडपर्व नै अधुरो मानिन्छ । यसैले त वर्षेनि दशैं-तिहारलाई लक्षित गरेर धेरै गीतहरु सार्वजनिक हुने गरेका छन् । तर, चर्चा एकाधको मात्रै हुन्छ । त्यो पनि सीमित समयसम्म । बरु दशकअघिका गीतहरु नै चाडपर्वमा चर्चित छन् ।
विशेषगरि, दशैं र तिहारमा २ दशक अगाडिका नेपाली फिल्मकै गीतहरुको बोलबाला रहेको छ । दशैंका लागि फिल्म ‘मुग्लान’को ‘दशैं आयो’ गीत सर्वाधिक लोकप्रिय मानिन्छ । त्यसरी नै तिहारमा पनि फिल्मकै गीतहरु बढी घन्किने गरेका छन् । फिल्म ‘स्वर्ग’मा समावेश ‘भैलिनी आए आँगन’ गीत तिहारकै पर्याय मानिन्छ । यहाँ हामीले तिहारका लोकप्रिय फिल्मी गीतहरु प्रस्तुत गरेका छौं ।
‘भैलिनी आए आँगन’
वर्षेनि तिहारमा सर्वाधिक घन्कने गीत हो, ‘भैलिनी आए आँगन’ । यो गीतले तिहार आएको आभाष गराउँछ । शम्भु प्रधान निर्देशित फिल्म ‘स्वर्ग’मा समावेश गीतमा यादव खरेलको शब्द, शम्भूजीत बाँस्कोटाको संगीत तथा लोचन भट्टराई र नूतन प्रधानको स्वर छ । गीतमा अभिनेत्री गौरी मल्ल प्रस्तुत छिन् । हरेक वर्षको तिहारमा देउसी खेल्नेहरुले यही गीत गाएर देउसी खेल्न सुरुवात गर्छन् ।
‘दियो बाली साँझको’
तुलसी घिमिरे निर्देशित सुपरहिट फिल्म ‘चिनो’को ‘दियो बाली साँझको’ बोलको तिहार गीत पनि दशकौंदेखि दर्शकमाझ लोकप्रिय छ । जब यो गीत घन्कन थाल्छ तब तिहारले घर-आँगन टेकेको महसुस गराउँछ । कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको संगीत र आशा भोस्लेको स्वर समावेश गीतको भिडियोमा स्वर्गीय सुभद्रा अधिकारी र स्वर्गीय कलाकार केशव भट्टराईको अभिनय छ ।
‘निधारमा लर्काएर सप्तरंगी टीको’
राजेन्द्र सलभको निर्देशन रहेको फिल्म ‘विजय पराजय’मा समावेश ‘निधारैमा लर्काएर सप्तरंगी टीका’ गीतले पनि तिहारको महत्त्व र विशेषता झल्काउँछ । यो गीत दिनेश अधिकारीले लेखेका हुन् । गीतमा हेमलताको स्वर र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतमा अभिनेताद्वय भुवन केसी, कृष्ण मल्ल र अभिनेत्री रुपा राणा फिचर छन् । गीतले बहिनीप्रति दाई-भाईको प्रेम बोल्छ ।
‘हाँसेर बोल बहिनी तिहारको बेलैमा’
अनिल संग्रौलाद्वारा निर्देशित फिल्म ‘माइती’मा समावेश यो गीत पनि तिहारको बेलामा बज्ने चर्चित गीत हो । आनन्द कार्की, उदित नारायण झा, दीपा झा, नगेन्द्र श्रेष्ठको स्वर रहेको गीतमा लक्ष्मणले संगीत भरेका छन् । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंह फिचर उक्त गीतमा रिसाएकी बहिनीलाई दाजुले फकाउँदै गरेको र भाईटीका लगाउँदै गरेको परिवेश समावेश छ ।
‘अधरमा आज उनकै छ गीत’
तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘अन्याय’ को ‘अधरमा आज उनकै छ गीत’ गीतले पनि तिहारको बयान गर्छ । यो गीतमा मनिला सोताङ्गको आवाज छ । टीका लगाएको र तिहारको थप परिवेशलाई गीतमा समेटिएको छ । आकाश अधिकारी निर्देशित फिल्म ‘कोहिनूर’मा समावेश गरिएको ‘यसपालिको तिहारै रमाइलो’ गीत पनि तिहारको समयमा सर्वाधिक घन्किने गीतमध्येमा पर्ने गर्छ ।