नेपाली फिल्मका लागि दशैंजस्तै तिहार पनि सन्तोषजनक देखिएको छ । दशैंमा दुईटा ठूला विदेशी फिल्मका बावजूद दुई नेपाली फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ले सानदार कमाई गरेका थिए । अब तिहार विदाको फाइदा निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’लाई मिलिरहेको छ । ओपनिङ अपेक्षाकृत नभए पनि तिहार विदामा फिल्मको व्यापार बढेको छ ।
फिल्मलाई आइतबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ ठूलो चुनौती थियो । जसले गर्दा फिल्मको शोजहरु समेत प्रभावित भएका थिए । तर, ‘टाइगर ३’लाई राम्रो प्रतिक्रिया नमिल्दा ‘दिमाग खराब’प्रति नै दर्शकको आकर्षण बढेको छ । यसको प्रमुख कारण अब्बल ‘वर्ड अफ माउथ’ हो । फिल्मलाई समीक्षक तथा दर्शक दुवैले रुचाएका छन् ।
‘टाइगर ३’ रिलिजको दिन फिल्मको व्यापार केही खस्किएको थियो । तर, सोमबारबाट व्यापारिक रफ्तार बढेको छ । र, दर्शकको बढ्दो चापका कारण गुमेका शोजहरु समेत फिर्ता भैरहेका छन् । प्रदर्शनको पाँचौं दिन (गोवर्धन पूजा)मा समेत फिल्मले प्राप्त गरेका शोजहरु विहानैदेखि भरिभराउ छन् । बिहीबारसम्म विदा रहेकाले फिल्मले तिहारमा नै लगानी सुरक्षित गर्न सक्ने देखिन्छ ।
राजनीतिक पृष्ठभूमिमा आधारित भएर निर्माण भएको यो फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्टलगायतको अभिनय छ । फिल्ममा निर्देशक बस्नेतले पनि महत्त्वपूर्ण भूमिकामा अभिनय गरेका छन् ।