नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाईटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने भाईटीकामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाएर मनाइन्छ । र, यस दिन दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरंगी टीका लगाउने प्रचलन रहेको छ ।
भाईटीकाको उत्तम साइत बिहान १०ः५१ मिनेटमा थियो । सोही साइतमा कलाकारहरुले पनि टीका ग्रहण गरेका छन् । अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बहिनीबाट भाईटीका लगाएका छन् भने अभिनेता अनमोल केसीलाई दिदीले भाईटीका लगाइदिएकी छन् । अभिनेता दीपकराज गिरीले पनि भाईटीका लगाएको तस्विर सामाजिक सञ्जालमा पोस्ट्याएका छन् ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भाईलाई टीका लगाएकी छन् भने अभिनेता रमिता ढुंगानाले दिदीबाट भाईटीका ग्रहण गरेका छन् । त्यस्तै, अभिनेत्री केकी अधिकारीले भाई र दाईलाई टीका लगाउँदा कलाकार सिताराम कट्टेलले बहिनीहरुबाट भाईटीका लगाएका छन् । मुश्लिम सुमदायका अभिनेता नाजिर हुसेनले पनि भाईटीका लगाएको तस्विर आफ्नो फेसबुकमा राखेका छन् ।
अभिनेत्रीहरु सञ्चिता लुईँटेल, वर्षा सिवाकोटी, निशा अधिकारी, सारिका घिमिरे, अभिनेताहरु पुष्प खड्का, राज कटुवाल, संजोग कोइराला, निर्माता सन्तोष सेन आदिले पनि टीका लगाएका तस्विरहरु फेसबुक र इन्स्टाग्राममा राखेका छन् । भाईटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा भए पनि दिनभर भाईटीका लगाउन सकिने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।