फिल्म ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेल र निर्देशक निश्चल बस्नेतले विदेशी फिल्म (टाइगर ३) बराबर शोज र फिल्म चलुन्जेल निर्मातालाई ५० प्रतिशत शेयर नदिए शुक्रबारबाट फिल्मलाई उतार्ने घोषणा गरेका थिए । यस विषयमा बिहीबार प्रदर्शक र वितरकहरुको संस्था नेपाल चलचित्र संघ र निर्माताबीच भएको छलफलपछि मंगलबारसम्म प्रदर्शन नरोक्ने सहमति भएको छ ।
संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बिहीबार ‘दिमाग खराब’का निर्माताहरु र नेपाल चलचित्र संघको कार्यसमितिबीचको छलफल सकारात्मक भएकोले आगामी मंसिर ५ गते मंगलबारका दिन पनि बाँकी अन्य बुँदाहरुमा छलफल गरी निष्कर्षमा पुग्ने सहमतिअनुसार पूर्ववत् रुपमा फिल्मको प्रदर्शन मंगलबार (मंसिर ५ गते)सम्म गर्ने निर्णय गरियो ।’
उच्च अकपेन्सीका बावजूद पनि मल्टीप्लेक्सहरुले न्यून शोज दिएपछि निर्देशक बस्नेतले बुधबार फेसबुक लाइभमार्फत् दुईटा माग राख्दै त्यो पूरा नभए शुक्रबारबाट प्रदर्शन रोक्ने घोषणा गरेका थिए । आइतबारबाट आएको बलिउड फिल्म ‘टाइगर ३’का कारण फिल्मलाई मल्टीप्लेक्सहरुले न्यून शोज दिएका छन् । तर, तिहार विदामा ‘टाइगर ३’भन्दा ‘दिमाग खराब’को अकुपेन्सी सुखद् छ ।
फेसबुक लाइभमा निश्चलले भनेका थिए, ‘अब फिल्म चलाउने दुईवटा मात्र आधार छ । आउने शुक्रबारदेखि विदेशी फिल्मबराबर नेपाली फिल्मको शो हुँदैन र निर्माताले हलमा फिल्म चलुन्जेल ५० प्रतिशत शेयर पाइरहँदैन भने हामीले फिल्म नचलाउने निर्णय गरेका छौं । हाम्रो माग सम्बोधन भएन भने शुक्रबारबाट फिल्म उतार्छौं । चेपिएर फिल्म चलाउनुभन्दा अरु माध्यमबाट देखाउँछौं ।’