‘प्रेमगीत’ निर्माता सन्तोष सेनले सोलो निर्देशकको रुपमा डेब्यू गर्न लागेको फिल्म ‘बलिदान’लाई लिएर धेरैमा चासो देखिएको छ । ६ करोड बजेट पूर्वअनुमान गरिएको फिल्ममा अभिनेता अर्पण थापा अनुबन्ध भैसकेका छन् भने अर्को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्ध भएको जानकारी प्राप्त छ । शुक्रबार उनीसँग निर्माता सेनले कागजी सम्झौता गरिसकेको स्रोतको दाबी छ ।
फिल्ममा सौगातले मधेशी चरित्र निर्वाह गर्ने जनाइएको छ । लक्ष्मीपूजामा सार्वजनिक गरिएको टिजरमा डमीको रुपमा एक मधेशी पात्रलाई मसिहाको रुपमा प्रस्तुत गरिएको थियो । सोही पात्रमा सौगातले अभिनय गर्ने बुझिएको छ । ‘बलिदान’मा अभिनेता प्रदीप खड्काको पनि अभिनय रहने चर्चा छ । यद्यपि, यसको पुष्टि भैसकेको छैन । उनी निर्माता सेनको घरभित्रका अभिनेता मानिन्छन् ।
आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको निर्मातामा पवन ब्राडफोर्ड बिस्ट छन् भने कार्यकारी निर्मातामा चक्र बहादुर चन्द र प्रेम पुरी रहेका छन् । दर्शन जीको लेखन रहने फिल्मको ‘स्क्रिप्ट डक्टर’मा मनोज पण्डित छन् । फिल्मको प्रदर्शन मिति आगामी वर्षको दशैंको फूलपातीलाई घोषणा गरिएको छ । फिल्मको आगामी पुषदेखि छायांकन सुरु गरिने जनाइएको छ ।
दोस्रो पटक ‘बलिदान’ शीर्षकमा फिल्म बन्न लागेको हो । वि.सं. २०५४ सालमा निर्देशक तुलसी घिमिरेले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मुख्य भूमिकामा लिएर ‘बलिदान’ बनाएका थिए । यो फिल्म युवाहरूको सपना र बलिदानको कथामा आधारित थियो । अब निर्देशक सेनले द्वन्द्वकालको समयमा मधेशमा घटेको एउटा भयानक घटनामा फिल्म निर्माण गर्न लागेको जानकारी प्राप्त छ ।