काठमाडौँमा इन्टरनेशनल वुमेन फिल्म फेस्टिभल आयोजना हुने भएको छ । आयोजक संस्था इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एण्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले आइतबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै यही मङ्सिर ९ गते हुने फेस्टिभलबारे जानकारी गराएको छ ।
रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन आइवार्टले महिला फिल्ममेकरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले फेस्टिभलको आयोजना गर्न लागेको आइवार्ट नेपाल च्याप्टरकी अध्यक्ष इच्छा गुरुङले जानकारी दिइन् । चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा आयोजना हुने सो फेस्टिभलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला फिल्मकर्मीहरूको सहभागिता रहनेछ । सोही दिन नेपाली शर्ट फिल्म प्रतियोगिताको समेत आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
नेपाली फिल्म क्षेत्रमा रहेका रचनात्मक र सृजनशील महिलाहरू विविध कारणले पछाडि परेको कारण उनीहरूलाई प्रोत्साहन गर्न फेस्टिभल आयोजना गर्न लागिएको फेस्टिभल निर्देशक सङ्गीता श्रेष्ठले जानकारी दिइन् । यस पटकको फेस्टिभल तेस्रो संस्करणको फेस्टिभल हो ।