मित्र प्रधान (नर)को निर्देशनमा फिल्म ‘यो मन त मेरो नेपाली हो’ निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्टको प्रस्तुति रहने फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्नेछ । शिवम् अधिकारीको लेखन रहेको फिल्ममा विल्सन विक्रम राई, रोशन श्रेष्ठ, बुद्धि तामाङ, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहनेछ ।
नेपालीहरु कसरी भुटान, म्यानमार, भारतमा पुगे र त्यहाँका नेपालीको अवस्था कस्तो छ भनेर फिल्ममा देखाइने निर्देशक प्रधानले बताएका छन् । फिल्मले राष्ट्र, राष्ट्रियता र नेपाली भाषाप्रति प्रेरित गर्ने उनको विश्वास छ । यही मंसिर ६ गते बुधबारबाट फिल्मको छायांकन सुरु हुनेछ । पाँचथर, झापा, सिक्किम, म्यानमार, देहरादुन, क्यानडा र अमेरिकामा फिल्मको छायांकन गर्ने तयारी छ ।
फिल्मका लागि अध्ययन तथा अनुसन्धान बढी गर्नुपर्ने भएकाले निर्माणमा पर्याप्त समय लाग्ने निर्देशक प्रधानको भनाई छ । पहिलो चरणमा फिल्मको ६० प्रतिशत छायांकन गरिनेछ । निर्देशक प्रधानकै कथा रहेको फिल्ममा दीपक शर्माको संगीत, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा कविराज गहतराजको कोरियोग्राफी रहनेछ । आगामी वर्ष फिल्म रिलिज गर्ने तयारी छ ।