आगामी फागुन २५ गते महाशिवरात्रीको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई ग्याङस्टार भूमिकामा प्रस्तुत हुँदैछ । उनको अपोजिटमा रहेकी अभिनेत्री मिरुना मगरले भने थारु युवतीको भूमिका निर्वाह गरेकी छन् । मंगलबार सार्वजनिक गरिएको पोस्टरमा उनलाई ‘जुनकिरी’को रुपमा चिनाइएको छ । उनी निराश र भावुक भावमा प्रस्तुत छिन् ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अर्पण थापा, प्रविण खतिवडा, रमेश बुढाथोकीलगायतको पनि मुख्य भूमिका छ । हर्क साउद, अर्जुन सुवेदी र सबिन सिंहको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको संगीत छ । फिल्मको कार्यकारी निर्मातामा जितेन्द्र खतिवडा र अनुज जङ्ग थापा रहेका छन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् ।
युवक कार्की र शिव शंकर चौलागाईँ सह-निर्माता र विवेक खड्का (योलो) एशोसियट निर्माता रहेको ‘रङ्गेली’मा सुशन प्रजापतिको छायांकन छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मको नेपाल प्रदर्शनभन्दा अघि अष्ट्रेलिया र अमेरिकामा प्रिमियर आयोजना गर्ने तयारी गरिएको छ । यी दुई देशका साथै जापान, कोरिया र हङकङमा पनि फिल्मको प्रदर्शन अधिकार बिक्री भैसकेको छ ।