मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को एक गीत दुई दिन लगाएर काठमाडौंको ठमेलस्थित १० एक्स क्लबमा छायांकन गरिएको छ । ‘ए मेरा बाबै नि’ बोलको डान्सिङ गीतमा फिल्मका मुख्य अभिनेता इओन लिम्बुले नृत्य गरेका छन् भने उनलाई अभिनेत्री वर्षा सिवाकोटीले साथ दिएकी छन् । फिल्मको यो गीतमा मात्र वर्षा देखिनेछिन् ।
गीतमा आशिष अबिरल र निरुषा भट्टराईको स्वर, निरुषाको शब्द रचना र आशिषको संगीत छ । आशिषकै एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ भने सौरभ लामाको छायांकन छ । वर्षाले गीत राम्रो लागेपछि काम गरेको बताएकी छन् । यो गीतले राम्रो चर्चा पाउने उनको विश्वास छ । इओन भने वर्षासँग स्क्रिन शेयर गर्न पाउँदा दंग छन् ।
फिल्ममा इओनका साथै सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, सिमोन गिरी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय छ । अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । दयाराम घिमिरेको कथा/पटकथा रहेको फिल्मका छायाँकार विक्रम डिसी हुन् ।
फिल्ममा ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, डिपी खनालको रचना, राजु किराँतीको द्वन्द्व निर्देशन, कविराजसँगै रामजी लामिछानेको कोरियोग्राफी र प्रविन ढकालको सम्पादन छ । एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले फिल्मको वितरण अधिकार लिएका छन् । निर्देशक सुब्बाले फिल्मले प्रेमकथासँगै सामाजिक विषय उठान गरेको बताए । फिल्म राम्रो बनेको उनको दाबी छ ।