कात्तिक २४ गतेदेखि प्रदर्शनमा उत्रिएको फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले विदेशी फिल्मसरह शोज र फिल्म चलुन्जेल निर्मातालाई ५० प्रतिशत सेयर नदिए प्रदर्शन रोक्ने घोषणा गरेपछि फिल्म क्षेत्रमा ठूलै हलचल ल्यायो । निर्मातादेखि कलाकारसम्म फिल्मले गरेको निर्णयको पक्षमा उभिएपछि प्रदर्शक र वितरकलाई ठूलो दबाब सिर्जना भयो ।
यसपछि प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघले फिल्मका निर्माताहरुसँग छलफल गरेर समान शोज बाँड्ने सहमति गर्यो । ५० प्रतिशत सेयरको विषयमा छलफल गर्न भने मंसिर ५ गते (मंगलबार) पुनः बैठक बस्ने सहमति भएको थियो । यसका लागि संघले वार्ता टोली गठन गरेर मंगलबार फिल्मको टिम र चलचित्र निर्माता संघसँग झण्डै चार घण्टा वार्ता गरेको थियो ।
तर, मंगलबारको वार्ता निष्कर्षविहीन हुन पुगेको छ । केही प्रदर्शकहरुले फिल्म चलुन्जेल ५० प्रतिशत सेयर बाँड्ने विषयमा विमति जनाएपछि सहमति जुट्न नसकेको जानकारी प्राप्त छ । हलमा ट्रेलर तथा पोस्टर लगायतका प्रचार सामाग्रीको प्रयोगको विषयमा पनि दुई संस्थाबीच छलफल भएको थियो । सेयरलगायतको विषयलाई टुंग्याउन बुधबार संघकै कार्यालयमा पुनः छलफल हुँदैछ ।
‘दिमाग खराब’ले उठाएको मागमा चलचित्र संघ सकारात्मक देखिएपछि मंगलबारसम्म फिल्मको प्रदर्शन यथावत् राखिएको थियो । वार्ताको निष्कर्षको पखाईमा हलहरुले मंगलबार साँझसम्म बुधबारका लागि शोज नै बाँडेका थिएनन् । बुधबार पुनः वार्ता गर्ने गरि प्रदर्शन जारी राख्ने सहमति भएपछि फिल्मको शोज खुलाइएको थियो । बुधबारको निर्णायक वार्ताले फिल्म रिलिजको निधो गर्नेछ ।
प्रदर्शनको पहिलो र दोस्रो हप्ता प्रदर्शक र निर्माताले ५०/५० प्रतिशत सेयर पाउने गर्छन् । तर, तेस्रो हप्तादेखि निर्माताले जम्मा ३५ प्रतिशत र प्रदर्शकले ६५ प्रतिशत सेयर पाउँछन् । जसले गर्दा राम्रो व्यापार गर्ने फिल्मका निर्मातालाई तेस्रो हप्ताबाट ठूलो घाटा हुने गरेको छ । यसैले पनि ‘दिमाग खराब’ले उठाएको सेयर बाँडफाँडको विषयमा अधिकांश निर्माताले ऐक्यबद्धता जनाएका छन् ।