यस वर्ष अभिनेत्री वर्षा सिवाकोटीका लागि सुखद् बन्यो । ७ वर्षपछि उनले हिट फिल्म पाएकी छन् । दशैंको अवसर पारेर असोज २६ गते प्रदर्शन भएको फिल्म ‘परदेशी २’ व्यावसायिक रुपमा सफल हुँदा उनको करिअरलाई ठूलो राहत मिलेको छ । श्रृंखलाबद्ध रुपमा फिल्म असफल भैरहँदा पनि उनी कामविहीन भने हुनु परेको थिएन । फिल्म तथा म्यूजिक भिडियोमा राम्रै व्यस्तता थियो ।
तर, डेढ वर्षयता उनले कुनै फिल्मको छायांकन गरेकी छैनन् । न त म्यूजिक भिडियोलाई प्राथमिकता दिएकी छन् । बरु फिल्मका गीतमा अभिनय गरिरहेकी छन् । गत भदौमा प्रदर्शनमा आएको फिल्म ‘गणपति’को ‘टुकी झ्याप’ बोलको गीतमा उनले नृत्य गरेकी थिइन् । यही साता वर्षाले मंसिर २९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘दुई कदम’को ‘ए मेरा बाबै नि’ गीतमा नृत्य गरेकी छन् ।
उनी सम्झौता गरेका फिल्मको छायांकन सुरु नहुनाले गीतमा काम गरिरहेको बताउँछिन् । ‘दुई कदम’को गीत छायांकनको क्रममा उनले भनेकी छन्, ‘मेरो दुईवटा फिल्म घोषणा भैसकेका छन् । तर, छायांकनमा जान सकेको छैन । म अहिले त्यही फिल्म पर्खेर बसिरहेको छु । किनकि, यी दुईवटै मैले एकदमै आशा गरेका फिल्महरु हुन् । त्यसैले पनि मैले अरु फिल्म सम्झौता गरेको छैन ।’
अहिले आफू फिल्म छनोटमा चुजी भएको पनि उनको भनाई छ । राम्रो गीत आउँदा भने काम गर्ने गरेको वर्षा बताउँछिन् । उनले भनेका दुईवटा फिल्ममध्ये एउटा चाहिँ ‘काजी’ हो, जुन आगामी माघबाट छायांकन सुरु हुँदैछ । लक्ष्मण रिजालको निर्देशनमा बन्न लागेको फिल्ममा उनको जोडी अभिनेता विपिन कार्कीसँग बाँधिँदैछ । यो फिल्मलाई लिएर उनी उत्सुकसँँगै गम्भीर देखिएकी छन् ।