अभिनेत्री तथा निर्मात्री श्वेता खड्कालाई पितृशोक परेको छ । उनका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ काठमाडौंस्थित निजी निवास बनस्थलीमा निधन भएको हो । ओतबहादुर १०१ वर्षका थिए । पूर्व सैनिक समेत रहेका उनको सेनाको सलामीसहित मंगलबार साँझ नै पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । पिताको निधनले श्वेता विक्षिप्त छिन् ।
उनले पितालाई सम्झँदै बुधबार इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘म कहाँबाट सुरु गरुँ । म तपाईंको उपस्थिति, तपाईंको मुस्कान, तपाईंको आवाजलाई एकदमै मिस गर्छु । म तपाईंको कमी महसुस गरिरहेकी छु । तपाईंको छोरी भन्नु नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो । मेरो लागि सर्वश्रेष्ठ हुनुभएकोमा धन्यवाद ।’ उनले फिल्ममा आउन आफूलाई बुबाकै प्रेरणा रहेको बताउँदै आएकी छन् ।
अघिल्लो वर्षको कात्तिकमा आमा बनेकी श्वेता २०७४ सालमा प्रदर्शनमा आएको फिल्म ‘कान्छी’पछि अभिनयमा निस्क्रियझैँ छिन् । आफ्नै व्यापार व्यवसायमा व्यस्त रहेकी उनी आगामी वर्ष भने अभिनयमा फर्किने तयारीमा रहेको जानकारी प्राप्त छ । ‘कहाँ भेटिएला’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी उनले २०७७ सालमा धनगढीका विजयेन्द्र सिंह रावतसँग दोस्रो विवाह गरेकी थिइन् ।