अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङले मुख्य भूमिकामा अभिनय गर्न लागेको फिल्म ‘फर्की फर्की’को मुहूर्त गरिएको छ । शुक्रबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप पूजा गरिएको हो । फिल्मको छायांकन भने मंसिर ११ गते तालनगरी पोखराबाट सुरु हुनेछ । अन्नपूर्ण बेसक्याम्प, काठमाडौं, मुस्ताङ र इन्डोनेसियाको बालीमा पनि छायांकन गरिनेछ ।
आउँदो बर्षको जेठ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । यसअघि उनले फिल्म ‘सानो मन’को निर्देशन गरेका थिए । रोहित अधिकारी र ओम अग्रवालको संयुक्त लगानी रहने यस फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ आदिको पनि अभिनय रहनेछ ।
अनीरुद्र गिरी कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा भने मनोज वली र रामु न्यौपाने छन् । फिल्ममा नरेन्द्र मैनालीको डीओपी, अष्ट महर्जनको द्वन्द्व निर्देशन, निर्देशक गुरुङ स्वयंको कथा तथा पटकथा लेखन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको गीतमा कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन र प्रोडक्शन डिजाइनरमा शंकर पाण्डे रहेका छन् ।
फिल्मको शुभमुहूर्त समारोहमा अनमोलले ‘फर्की फर्की’ टेबलमै तयार भैसकेको बताए । उनले भने, ‘फिल्म भनेको टेबलमा बन्छ । यो फिल्म पनि टेबलमै तयार भैसकेको छ । दर्शकले लभस्टोरी फिल्ममा एउटा नयाँ स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।’ त्यस्तै, जसिताले एउटा उत्कृष्ट लभस्टोरी फिल्ममा अनमोलसँग काम गर्नका लागि आफू उत्साहित रहेको बताइन् ।