‘प्रेमगीत’ फेम्ड निर्माता सन्तोष सेनले आफ्नो निर्देशनमा ६ करोड खर्चिएर नेपाली र हिन्दी भाषामा फिल्म ‘बलिदान’ बनाउँदैछन् । लक्ष्मीपूजाको दिन टिजर सार्वजनिक गरिएदेखि चर्चामा रहेको फिल्ममा सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा भित्रिसकेका छन् । मुख्य भूमिकाका लागि अझै केही कलाकारको खाँचो छ । दर्शकहरुले भने ‘एक्सन स्टार’ विराज भट्टको नाम जपेका छन् ।
सार्वजनिक टिजरको कमेन्टमा निहाल्ने हो भने ३० प्रतिशतभन्दा बढीले मुख्य भूमिकामा विराजको नाम लिएको देखिन्छ । कमेन्ट बक्समा झमन सिंह सुनार लेख्छन्, ‘यो फिल्ममा विराज भट्ट भइदिए बबाल हुन्छ । किनकि, त्यो भ्वाइस अनि एक्सन अरु कोहीमा हुनै सक्दैन ।’ त्यस्तैगरी, राज श्रेष्ठले टिजरमा प्रस्तुत पात्रमा विराज सुहाउने उल्लेख गरेका छन् । यस्ता कमेन्ट टिजरमा धेरै छन् ।
केही प्रतिशतले अभिनेतात्रय राजेश हमाल, निखिल उप्रेती र प्रदीप खड्काको पनि माग गरेका छन् । तर, विराजकै नाम कमेन्टमा हाबी छ । यसलाई निर्माता सेनले सकारात्मक रुपमै लिएका छन् । उनले फिल्मीखबरसँग भने- ‘फिल्म एक्सन प्रधान भएकाले पनि दर्शकहरुलाई विराज भट्ट सुहाउँछ भन्ने लागेको हुनसक्छ । यसले हामीलाई एक्सनमा अझ जिम्मेवारी थपेको महसुस भएको छ ।’
सन्तोष फिल्ममा विराज भट्टको सम्भावनालाई नकार्न भने सक्दैनन् । ‘अहिले नै विराज भट्टको सम्भावनालाई नकार्न चाहिँ सकिँदैन । तर, वास्तविक मुद्धामा फिल्म बन्न लागेकाले स्क्रिप्ट पूर्ण रुपले तयार भएपछि मात्र मुख्य भूमिकाका लागि सोच्ने छौं । फिल्मको विषय र चरित्रले उहाँलाई कति माग्छ भन्ने कुरा हो । तर, दर्शक र कन्टेन्ट दुवैलाई न्याय हुने गरि चरित्र छनोट गर्नेछौं,’ उनले भने ।
त्यसो त विराजसँग निर्माता सेनको राम्रो सम्बन्ध छ । ‘प्रेमगीत ३’को हिन्दी डबसँगै भारत प्रदर्शनको क्रममा उनको विराजसँग केही पटक मुम्बईमा भेटघाट भएको थियो । विराजले त्यसबेला आफ्नो सामाजिक सञ्जालमार्फत् फिल्मको सफलताको शुभकामना पनि दिएका थिए । अब दर्शकहरुबाटै ‘बलिदान’को मुख्य भूमिकामा विराजको माग भएपछि निर्माता सेनलाई सोच्न बाध्य बनाएको छ ।