नेपालीहरुका लागि दशैं र तिहार जति ठूलो चाड हो, त्योभन्दा कम मानिँदैन नेपाली फिल्मका लागि । लामो विदा र प्रायः मानिस ‘फेस्टिभल मुड’मा हुने भएकाले यो समयमा फिल्म रिलिज सबैभन्दा उपयुक्त मानिन्छ । दशैं र तिहारमा रिलिज गर्दा फिल्म फ्लप हुने खतरा पनि कम हुन्छ । यसैले वर्षौंदेखि यी दुई ठूला पर्वमा फिल्म रिलिज गर्न निर्माताहरुबीच ठूलो रस्साकस्सी हुने गरेको छ ।
यसपालिको दशैं र तिहारमा पनि फिल्मको अभाव भएन । घटस्थापनाको दुई दिनअघि ‘परदेशी २’ रिलिज भयो भने फूलपातीबाट ‘पशुपति प्रसाद २ : भष्मे डन’ले प्रदर्शन थालेको थियो । र, दुवै फिल्म सफल पनि भए । यी दुई फिल्मले व्यावसायिक सफलता हासिल गर्न सफल हुनुमा दशैं विदाको सबैभन्दा ठूलो योगदान रह्यो । दशैं विदापछि भने दुवै फिल्मको व्यापार खस्किएको थियो ।
यसपालिको दशैं नेपाली फिल्मका लागि जति फलिफाप बन्यो, तिहार पनि त्यस्तै रह्यो । कात्तिक २४ गतेबाट प्रदर्शन भएको फिल्म ‘दिमाग खराब’ले तिहार विदामै झण्डै ४ करोड अंक जोड्यो । तिहार विदाभन्दा अघिसम्म फिल्मको व्यापार खासै गतिलो थिएन । ‘वर्ड अफ माउथ’ अब्बल हुँदा तिहार विदामा फिल्मको व्यापार चम्किन पुगेको थियो । तिहारपछि पनि फिल्मको व्यापार राम्रो छ ।
दशैं र तिहारमा तीन नेपाली फिल्मले बलिउड र साउथका ठूला स्टारका फिल्मसँग भिडन्त गर्नुपरेको थियो । दशैंमा साउथ फिल्म ‘लियो’ र बलिउड फिल्म ‘गणपत’ प्रदर्शन भएका थिए भने तिहारमा बलिउड फिल्म ‘टाइगर ३’ आएको थियो । यसका बावजूद तीन नेपाली फिल्म घरेलू बक्स अफिसमा सशक्त देखिए । यी दुई पर्वमा मात्र नेपाली फिल्मले १८ करोड हाराहारी कमाएका छन् ।
यसपालिको दशैं र तिहारको नतिजाले अब नेपाली फिल्मका लागि विदेशी फिल्म ठूलो चुनौती होइन भन्ने देखाएको छ । यसपटक बलिउड सुपरस्टार सलमान खानको फिल्ममाथि समेत नेपाली फिल्म हाबी देखियो । यसले नेपाली फिल्मप्रति दर्शकहरुको बढ्दो विश्वास र आकर्षणलाई पृष्टि गर्छ । यो फिल्ममेकरका लागि अवसर र चुनौती दुवै हो । अब फिल्म मेकिङ शैली सुधार्न जरुरी छ ।