बलिउड सुपरस्टार सलमान खान र निर्देशक तथा निर्माता करण जोहरबीच २५ वर्ष अगाडि फिल्म ‘कुछ कुछ होता हे’मा सहकार्य भएको थियो । यसपछि उनीहरुबीच सहकार्यको चर्चा चलेको भए पनि जुर्न सकेको थिएन । अब भने उनीहरुबीच एक फिल्ममा सहकार्य हुँदैछ । केही समयअघि सलमानले ‘आपकी अदालत’मा आफूले करणको फिल्म गर्न लागेको जानकारी गराएका थिए ।
अब उनले फिल्मको नाम पनि घोषणा गरेका छन् । एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘म ‘द बुल’ शीर्षकको एक फिल्ममा काम गर्दैछु । यसपछि ‘दबंग ४’, ‘किक २’ र सूरज बडजात्याको फिल्म गर्नेछु ।’ करणले यसअघि नै ‘द बुल’ शीर्षकमा फिल्म बनाउन लागेको जानकारी गराएका थिए । फिल्मलाई विष्णुवर्धनले निर्देशन गर्नेछन्, जसले यसअघि फिल्म ‘शेरशाह’ निर्देशन गरेका थिए ।
बलिउड हंगामाका अनुसार, ‘द बुल’ एक्सन प्रधान हुनेछ । र, सलमानले आर्मीको भूमिका निभाउनेछन् । यसका लागि उनले तौल कम गर्न सुरु गरिसकेको जनाइएको छ । फिल्मको छायांकन आगामी नोभेम्बरबाट थालिनेछ । सलमानको पाइपलाइनमा निर्देशक सिद्धार्थ आनन्दको फिल्म ‘टाइगर भर्सेस पठान’ पनि रहेको छ । यो फिल्ममा सलमान खान र शाहरुख खान एकसाथ देखिँदैछन् ।