प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले फिल्ममेकरले फिल्ममार्फत् उठान गर्ने कथाले समाज बदल्ने क्षमता राख्ने बताएकी छन् । शनिबार चलचित्र विकास बोर्डमा आयोजित तेस्रो संस्करणको ‘आइर्वाट नेपाल अन्तर्राष्ट्रिय महिला चलचित्र महोत्सव’को उद्घाटन समारोहमा बोल्दै उनले भूकम्प र कोरोना महामारीको समयमा महिलामाथि भएका हिंसाका घटनाहरुलाई फिल्ममा देखाउन पनि आग्रह गरिन् ।
‘महामारीका बेला महिलाहरूमाथि थुप्रै हिंसाहरु भए । ती हिंसाका घटनाहरुलाई फिल्ममार्फत् बाहिर ल्याउन जरुरी छ । हामीले देखाउने धेरै कथाहरुले हाम्रो समाज परिवर्तन गर्न सक्छन्,’ महोत्सवमा केही फिल्म हेरेपछि उनले अगाडि भनिन्, ‘हरेक कथाले हाम्रो समाज बदल्ने क्षमता राख्छन् । लैङ्गिक हिंसा महिलालाई मात्र नभई पुरुषलाई पनि हुन्छ भन्ने कुरा फिल्ममा हेर्न पाइयो । नेपालमा हामीले यस विषयमा बहस समेत सुरु गर्न सकेका छैनौँ ।’
महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय डेलिगेट्सहरूको सहभागिता रहेको थियो । शनिबार दिनभर चलेको महोत्सवको समापन भने सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन् । सोही अवसरमा चौंथो ‘आइर्वाट लघु चलचित्र प्रतियोगिता’का विजेताहरुलाई पुरस्कार पनि प्रदान गरियो । अनुष्का अर्यालद्वारा निर्देशित ‘सङ्कुल’ प्रथम भयो भने अनिता स्याङबो निर्देशित ‘वर्थु’, श्रेयन राजभण्डारी निर्देशित ‘अक्वारियम’, पुनम पौडेल निर्देशित ‘लिभिङ विथ डिग्निटी’ र सरिता शाह निर्देशित ‘नोटबुक’ले विशेष लघु चलचित्रको पुरस्कार प्राप्त गरे ।
डेलिगेट्सको रूपमा महोत्सवमा सहभागिता जनाउन आइर्वाट भारतकी म्यानेजिङ ट्रस्टी तथा फिल्ममेकर आराधना कोहली कपुर, बङ्गलादेशकी फिल्ममेकर, मानवअधिकारकर्मी तथा पत्रकार सुमी खान, तान्जानियाकी पत्रकार तथा फिल्ममेकर मारियम मोहम्मद हमादी, किर्गिस्तानकी फिल्ममेकर तथा पत्रकार जाम्बी जुजुबालिविभा, आइर्वाट नेपाली संस्थापन वन्दना राणा, आइर्वाट नेपालकी पूर्व अध्यक्ष अनुपा श्रेष्ठ, नेपालकी फिल्म निर्माण सल्लाहकार प्रसुना डङ्गोल लगायतको उपस्थिति रहेको थियो ।
महोत्सवमा नेपाली र विदेशी गरी १३ वटा फिल्म प्रदर्शन गरिएको थियो । कम्बोडियाको ‘सेक्रेट किलर’, ट्युनिसियाको ‘द नाइट अफ द ब्लाईन्ड मुन’, तान्जानियाको ‘मुहाली’, किर्गिस्तानको ‘सागा अन ओमेन’ लगायतका फिल्महरू प्रदर्शन भएको थियो ।
कार्यक्रमको समापनमा मन्त्री शर्माले समाज परिवर्तनमा महिला फिल्मकर्मीहरूको प्रयासलाई धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘हामीले अहिले विभिन्न क्षेत्रमा महिला सशक्तीकरणका अभ्यासहरू भइरहेको देखेका छौँ । फिल्म क्षेत्रमा समाजलाई सन्देश दिने ढङ्गले जसरी महिला फिल्मकर्मीहरूले जुन प्रयत्न गरिरहनुभएको छ, उहाँहरूलाई म धन्यवाद दिन चाहन्छु । यो कामले निरन्तरता पाउन सकोस् ।’ उनले सरकारले महिला फिल्मकर्मीहरूलाई प्रोत्साहन दिने खालका योजनाहरूमा काम गरिरहेको पनि बताएकी छन् ।
महोत्सवमा काठमाडौँ महानगरपालिका अन्तर्गतको युनेस्को चलचित्र नगरी परियोजना र चलचित्र विकास बोर्डले सहकार्य गरेका थिए । एक भिडियो सन्देशमार्फत महानगरपालिकाकी उप-प्रमुख सुनिता डङ्गोलले यो महोत्सवलाई एउटा अवसरको रूपमा लिनुपर्ने बताइन् । उनले भनिन्, ‘यो महोत्सवले धेरैभन्दा धेरै महिला फिल्मकर्मीहरूलाई प्रोत्साहन दिनेछ । नयाँ पुस्ताका चलचित्रकर्मीहरूलाई पनि चलचित्र क्षेत्रमा आफ्नो भविष्य बनाउने आशा दिनेछ भन्नेमा आशा लिएको छु ।’
महोत्सवको दौरान पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालको उपस्थितिमा नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठलाई सम्मान गरिएको थियो । रेडियो तथा टेलिभिजनमा आबद्ध महिला पत्रकारहरूको छाता सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ वमन इन रेडियो एन्ड टेलिभिजन (आइर्वाट)को नेपाल शाखाले यो महोत्सवको आयोजना गरेको हो ।