फिल्मप्रति दर्शकमा हुटहुटी जगाउन पोस्टरको पनि ठूलो भूमिका रहन्छ । यसैले पोस्टर आकर्षक हुन जरुरी छ । तर, प्रायः मेकर पोस्टरमै चुक्ने गर्दछन् । कलाकारलाई कुन हिसाबले प्रस्तुत गर्दा पोस्टर आकर्षक देखिन्छ भन्ने नै धेरैलाई थाहा हुँदैन । जसले गर्दा पोस्टर सार्वजनिक भए पनि त्यसले बजारमा खासै ठूलो पराकम्पन ल्याउँदैन । यो मामलामा फिल्म ‘सतीदेवी’ भने पृथक देखियो ।
निर्देशक लक्ष्मण सुवेदीले मंसिर ७ गते अभिनेत्री मलिका महतलाई प्रस्तुत गर्दै फिल्मको फर्स्टलुक सार्वजनिक गरेका थिए । फिल्म ग्रामीण परिवेशमा बनेको र मलिका गाउँले चरित्रमा रहेकाले पोस्टर सामान्य आउन सक्ने आँकलन धेरैको थियो । तर, निर्देशक सुवेदीले पोस्टरबाट ‘सरप्राइज’ दिए । उनले मलिकालाई जुन रुपमा प्रस्तुत गरेका छन्, त्यसले फिल्मप्रति नै अपेक्षा चुलाएको छ ।
पोस्टरमा मलिकालाई कालोमोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटिरहेको देख्न सकिन्छ । यसले नेपाली समाजको एउटा पाटो देखाएको छ । र, महिलाप्रति हुने व्यवहारलाई चित्रित गर्छ । पोस्टरले फिल्ममा मलिकाको भूमिका सशक्त रहेको बुझाउँछ । त्यसो त यो फिल्म नै उनको काँधमा छ । पहिलोपटक आफूमाथि केन्द्रित भएर फिल्म बनेकाले उनलाई चुनौती र अवसर दुवै छ ।
फिल्मको पोस्टरलाई सेलिब्रेटीहरुबाट पनि प्रशंसा मिलिरहेको छ । अभिनेत्री ऋचा घिमिरेले फेसबुकमा पोस्टर सेअर गर्दै फिल्मको टिमलाई शुभकामना दिएकी छन् भने अभिनेत्री वर्षा सिवाकोटीले फेसबुकमा पोस्टर सेअर गर्दै ‘प्रभावशाली पोस्टर’ भनेकी छन् । त्यसैगरी, अभिनेता सरोज खनालले पोस्टरले नै फिल्म उत्कृष्ट बनेको भान हुन्छ भन्दै निर्देशक सुवेदीलाई शुभकामना दिएका छन् ।
निर्देशक सुवेदी पोस्टरलाई लिएर प्राप्त प्रतिक्रियाले आफू नै ‘सरप्राइज’ भएको बताउँछन् । ‘पोस्टरले दर्शकसँगै फिल्मकर्मीहरुबाट जुनखालको प्रतिक्रिया पाएको छ, म आफैं ‘सरप्राइज’ छु । हामीलाई थप चुनौती थपिएको महसुस भएको छ,’ उनले भने, ‘फिल्म उत्कृष्ट बनाउने प्रयास गरेका छौं । हामीले गाउँ-समाजमा देखिरहेकै कथा फिल्ममा छ ।’ उनको यो तेस्रो निर्देशकीय फिल्म हो ।
प्रदर्शन मिति घोषणा गर्न बाँकी नै रहेको फिल्ममा मलिका महतका साथै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बू, मनिषा सापकोटालगायतको पनि अभिनय रहेको छ । निर्देशक सुवेदी स्वयंको निर्माण, लेखन र गीत रचना रहेको फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन् ।