यही मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘दुई कदम’बाट नेपाली फिल्म क्षेत्रले एक नयाँ अनुहार पाउँदैछ । उनी हुन्, इओन लिम्बु । फिल्मको हिरो बन्ने सपना उनको बाल्यकालदेखिको हो । यसका लागि उनले फिल्मसम्बन्धी अध्ययन पनि गरिरहेका छन् । यतिबेला उनी अस्कर इन्टरनेशनल कलेजमा ‘ब्याचलर इन सिनेमा स्टडिज’मा अन्तिम वर्षमा अध्ययन गर्दैछन् ।
इओन आफ्नो पहिलो फिल्मलाई लिएर जति उत्साहित छन्, त्यति नै डर महसुस पनि गरिरहेका छन् । ‘बाल्यकालमा देखेको सपना पूरा गर्न पाउँदा उत्साहित छु । अब दर्शकबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले डर लागिरहेको छ,’ उनी भन्छन् । पहिलोपटक क्यामेराअघि अभिनय गर्न सहज नरहेको उनको अनुभव छ । तर, रुचिको क्षेत्र भएकाले गम्भीर भएर काम गरेको इओनले बताए ।
पहिलो दिन सेटमा पुगेर अभिनय गर्दाको क्षण स्मरण गर्दै उनी भन्छन्, ‘पहिलो दिन नै गीतको छायांकन भएकाले मेरो ‘सिंगल सट’ खिचिएको थियो । पहिलोपटक क्यामेराअघि उभिँदा डर र उत्साह दुवै थियो । तर, निर्देशक उदय सुब्बाले मलाई एकदमै सहज रुपमा अभिनय गराउनु भयो । जसले गर्दा त्यसपछिका दिनमा काम गर्न सहज भयो ।’ फिल्म राम्रो बनेको समेत उनको दाबी छ ।
फिल्ममा इओनले चुलबुले युवकको भूमिका निभाएका छन्, जो साथीहरुसँग घुम्न र रमाउन रुचाउँछ । आफू रियल लाइफमा पनि त्यस्तै भएकाले चरित्र निर्माणमा धेरै तयारी गर्नु नपरेको उनको भनाई छ । ‘मैले गरेको मेहनत अब पर्दामा आउँदैछ । अहिलेको समयलाई मैले जीवनकै सबैभन्दा महत्वपूर्ण क्षण मानेको छु,’ उनी सुनिए । अब फिल्म क्षेत्रमै करिअर बनाउने उनको अठोट छ ।
‘दुई कदम’मा इओनका अलावा सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रितिका शर्माको पनि अभिनय छ । तारा देवी लिम्बुको लगानी रहेको फिल्ममा दयाराम घिमिरेको कथा र पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत छ ।