भारतीय अभिनेत्री प्रजक्ता कोली नेपालकी बुहारी बन्दैछिन् । नेपाली प्रेमी वृशांक खनालसँग यसै हप्ता काठमाडौंको एक रिसोर्टमा उनी विवाह बन्धनमा बाँधिँदैछिन् । केही दिन अगाडि उनी नेपाल आइसकेकी छन् । उनले शनिबार साँझ साडीमा काठमाडौंलाई पृष्ठभूमि बनाएर चन्द्रागिरी रिसोर्टमा खिचेको एक तस्विर इन्स्टाग्राममा राख्दै नेपाली भाषामा ‘त्यस्तो चिसो छैन’ भनेर लेखेकी छन् ।
उनले शुक्रबार इन्स्टामा प्रेमी खनालसँगको दुईवटा तस्बिर सेअर गर्दै हार्ट–इमोजी राखेर ‘म र मेरो’ भनेकी छन् । तस्विरमा खनाल ढाकाटोपी लगाएर दौरा सुरुवालमा ठाटिएका छन् भने प्रजक्ता रातो रंगको साडीमा छिन् । उनीहरु सन् २०११ देखि प्रेम सम्बन्धमा छन् । मुम्बई विश्वविद्यालयमा सँगै अध्ययन गर्ने क्रममा एकजना संयुक्त साथीको माध्यमबाट उनीहरुबीच चिनजान भएको थियो ।
प्रजक्ता भारतकी चर्चित युट्युबर समेत हुन् । दैनिक जीवनलाई हाँस्य रूपमा प्रस्तुत गर्ने उनको शैलीलाई युट्युबमा निकै रुचाइन्छ । ‘मस्टलीसेन’को रुपमा चर्चित रहेकी उनले रेडियो जकीको रुपमा करिअर सुरु गरेकी थिइन् । उनलाई लोकप्रिय भने युट्युबले बनायो । ‘ख्याली पुलाव’ सर्ट फिल्मबाट अभिनय करिअर सुरु गरेकी कोलीले फिल्म ‘जुगजुग जियो’मा पनि अभिनय गरेकी छन् ।
प्रजक्ताले विद्या बालनको मुख्य भूमिका रहेको ‘नियत’ र नेटफ्लिक्स सिरिज ‘मिसम्याच्ड’को दोस्रो सिरिजमा पनि काम गरिसकेकी छन् । चाँडै उनी प्राइम भिडियोको एक हरर वेब सिरिजमा काम गर्ने तयारीमा छिन् । त्यस्तै, वृशांकले अमेरिकामा कानुन व्यवसाय गर्दै आइरहेका छन् । उनले कोलीसँग गत असोजमा इन्गेजमेन्ट गरेका थिए । पछिल्लो समय उनीहरु अमेरिका बस्ने गरेका छन् ।