मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दयाहाङको युट्युब रेकर्ड : तीन फिल्मलाई साढे २ करोड भ्यूज

फिल्मीखबर, काठमाडौं, 2023/11/27

dayahang rai

 

अभिनेता दयाहाङ राईको स्टारडम यतिबेला उत्कर्षमा छ । सहायक भूमिकाबाट करिअर सुरु गरेका उनले अहिले आफ्नै काँधमा फिल्म बोकेर सफलताको ग्यारेन्टी गर्ने हैसियत बनाएका छन् । बलिउडका अक्षय कुमारको शैली अपनाएका उनले वर्षमै १०/१२ वटा फिल्म गर्छन् । त्यसमध्ये ३/४ फिल्म सफल हुन्छन् । यसैले अहिले उनलाई बक्स अफिसको ‘हिट मेशिन’ भनिने गरिएको छ ।

दयाहाङको स्टारडम हलमा मात्र होइन, युट्युबमा पनि देखिने गरेको छ । हलमा असफल भएका उनका फिल्मले समेत युट्युबमा उल्लेख्य भ्यूज पाउँछन् । त्यसो त प्रायः नेपाली फिल्म हलमा भन्दा युट्युबमै हिट हुन्छन् । हलमा सःशुल्क हेर्नुपर्ने फिल्म युट्युबमा निःशुल्क हेर्न पाइने भएकाले भ्यूज आक्रामक हुनु सामान्य कुरा हो । तर पनि दयाहाङका फिल्मको युट्युबमा बेग्लै क्रेज देखिन्छ ।

यसपालि दशैं र तिहारमा गरि उनका तीन फिल्म युट्युबमा सार्वजनिक भए । कात्तिक १४ गते ‘कबड्डी ४’, कात्तिक २५ गते ‘के घर के डेरा’ र कात्तिक २६ गते ‘बिहे पास’ युट्युबमा आएका थिए । यसमध्ये ‘बिहे पास’ हलमा फ्लप भएको थियो भने ‘के घर के डेरा’ सेमी हिट हुँदा ‘कबड्डी ४’ ब्लकबस्टर भएको थियो । युट्युबमा यी तीन फिल्मको भ्यूज जोड्ने हो भने साढे २ करोड हाराहारी छ ।

‘कबड्डी ४’लाई झण्डै एक महिनामा १ करोड १४ लाखमाथि भ्यूज मिलेको छ । यो अंक आक्रामक हो । त्यस्तै, ‘के घर के डेरा’लाई दुई हप्तामा झण्डै ७० लाख र ‘बिहे पास’लाई दुई हप्तामा ५७ लाख बढीले हेरेका छन् । एक महिनाको अवधिमा एउटै नायकका तीन फिल्मलाई युट्युबमा झण्डै साढे २ करोड पटक हेरिनु आफैंमा एउटा रेकर्ड हो । यसले दयाहाङको स्टारडम प्रमाणित गर्छ ।