बलिउड सुपरस्टार सलमान खानलाई यस वर्ष एकसाथ दुईटा ठूलो झट्का लागेको छ । पहिलो, उनी अभिनीत फिल्म ‘टाइगर ३’ले बक्स अफिसमा अपेक्षाकृत कमाई गर्न सकेको छैन । ५ सय करोड कमाईको प्रक्षेपण गरिएको फिल्मलाई भारतमा ३ सय करोड कमाउन पनि मुश्किल परिरहेको छ । दोस्रो, उनी स्वयंले निर्माण गरेको फिल्म ‘फर्रे’ बक्स अफिसमा नराम्रोसँग डुब्न पुगेको छ ।
‘फर्रे’लाई उनको प्रोडक्सन कम्पनी ‘सलमान खान फिल्म्स्’ले निर्माण गरेको हो । यो फिल्मबाट उनकी भान्जी अलीजेह अग्निहोत्रीले डेब्यू गरेकी छन् । आफ्नै लगानी, त्यसमाथि भान्जीको डेब्यू फिल्म भएकाले सलमान प्रचारमा समेत आफैं खटिएका थिए । तर, फिल्मले बक्स अफिसमा भने कुनै जादू देखाउन सकेको छैन । प्रदर्शनको तीन दिनमा तीन करोड जोड्न पनि फिल्म चुकेको छ ।
फिल्मलाई ५० लाखको ओपनिङ मिलेको थियो । दोस्रो दिन ७८ लाख कमाई गरेको फिल्मले तेस्रो दिन ९० लाख जोडेको भारतीय मिडियाले उल्लेख गरेका छन् । २० करोड हाराहारीमा निर्माण भएको फिल्मलाई लगानीको एक तिहाई उठाउन पनि मुश्किल पर्ने देखिन्छ । त्यसो त सलमानले अरु कलाकारलाई लिएर निर्माण गरेका फिल्म सफल छैनन् । ‘फर्रे’लाई रिभ्यू भने राम्रो मिलेको छ ।
सलमानकै ‘टाइगर ३’ले गर्दा ‘फर्रे’ बक्स अफिसमा चेपिएको विश्लेषण भइरहेको छ । अब यही शुक्रबारदेखि बलिउडका दुई ठूला फिल्म ‘एलिमन’ र ‘साम बहादुर’ रिलिज हुन लागेकाले सलमानको दुवै फिल्म हलबाट उत्रिने सम्भावना प्रवल छ । ‘फर्रे’लाई राष्ट्रिय अवार्ड विजेता सौमेन्द्र पाढीले निर्देशन गरेका हुन् भने अलीजेहका साथै जेन शो, साहिल मेहता, प्रसन्ना बिष्ट आदिको अभिनय छ ।