नेपाली फिल्मको भाग्य पनि अजिबको छ । हलमा दर्शकको हाहाकार भएको फिल्म युट्युबमा आउँदाखेरि मारामार हुन्छ । यसको एउटै कारण छ, हलमा सःशुल्क, युट्युबमा निःशुल्क । जब हलमा रिलिज भएको केही महिनामा नै फिल्म युट्युबमा आउँछ भने दर्शक हल किन जान्छन् ? यो अहिलेको टट्कारो प्रश्न हो । युट्युबमा फिल्म रिलिज गर्ने प्रवृतिले हलको व्यापार चौपट बनेको छ ।
निर्मातालाई पनि समस्या छ । हलमा फिल्म नचलेपछि ठूलो घाटा बेहोर्नुपर्छ । युट्युब च्यानललाई फिल्म बेच्दा केही आम्दानी हुन्छ । तर, विदेशका ठूला उद्योगमा फिल्म नचले पनि युट्युबमा आउँदैनन् । त्यसका लागि निर्माताहरुले अरु विकल्प खोज्ने गरेका छन् । नेपाली निर्माताले भने हलको विकल्प युट्युब मात्र देखेका छन् । त्यसले गर्दा नेपाली फिल्मको बजार युट्युबमा मात्र बढेको छ ।
चार दिनअघि युट्युब रिलिज भएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले पाएको भ्यूजले पनि युट्युबमा नेपाली फिल्म पर्खिने दर्शकको जमात देखाउँछ । १७ लाख बढी भ्यूजका साथ फिल्म युट्युब ट्रेन्डिङमा उक्लिसकेको छ । तर, हलमा यही फिल्मलाई दर्शकको हाहाकार भएको थियो । न त समीक्षा गतिलो मिलेको थियो । युट्युबमा भने फिल्मलाई दर्शकको चाप र प्रतिक्रिया दुवै गजब छ ।
सुदर्शन थापा निर्देशित फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनम तोप्देनलगायतको अभिनय छ । बलियो स्टारकास्टका कारण पनि युट्युबमा फिल्मलाई भ्यूज आक्रामक मिलेको देखिन्छ । फिल्म हलमा रिलिज हुँदा भने कलाकारको स्टारडम देखिएको थिएन । अब युट्युबमा मिलेको भ्यूजले न निर्मातालाई फाइदा छ न कलाकारको करिअरमा कुनै अर्थ राख्छ । यो हर्ष न विस्मातजस्तै हो ।