नेपाली फिल्मका लागि हलिउडभन्दा ठूलो चुनौती बलिउड हो । भाषाको सहजताले गर्दा बलिउड फिल्मको नेपालमा उच्च प्रभाव छ । यसैले नेपाली निर्माताहरु बलिउडको ठूलो फिल्म आउँदा सकभर जोखिम मोल्न चाहँदैनन् । तर, यसपालिको दशैं र तिहारमा बलिउड र साउथ फिल्ममाथि नेपाली फिल्म हाबी भए । यसले नेपाली फिल्मप्रति दर्शकको बढ्दो विश्वास र आकर्षण दर्शाउँछ ।
तिहारमा प्रदर्शनको तेस्रो दिन नै निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले बलिउडको ठूलो फिल्म ‘टाइगर ३’सँग प्रतिस्पर्धा गर्नुपरेको थियो । जसले गर्दा फिल्मको मल्टीप्लेक्सहरुमा धेरै शोज खोसिएको थियो । यसका बावजूद तिहार विदामा अब्बल ‘वर्ड अफ माउथ’ले फिल्मको व्यापार एकाएक बढ्यो । यतिबेला ‘टाइगर ३’भन्दा व्यापार र अकुपेन्सी दुवै ‘दिमाग खराब’को राम्रो छ ।
‘टाइगर ३’को चुनौती चिरेको फिल्मले अब अर्को ठूलो चुनौती सामना गर्दैछ । त्यो हो, यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको बलिउड फिल्म ‘एनिमल’ । यसै साता रिलिज भएको ट्रेलरपछि नेपालमा फिल्मको आक्रामक ओपनिङको प्रक्षेपण गरिएको छ । र, मल्टीप्लेक्सहरुमा फिल्मले उल्लेख्य मात्रामा शोज हत्याउने निश्चित प्रायः छ । यो अवस्थामा ‘दिमाग खराब’ शोजमा चेपिन सक्नेछ ।
फिल्मले व्यापारको आधारमा तेस्रो हप्तासम्म पाएको शोज संख्या सन्तोषजनक छ । ‘टाइगर ३’सरहकै शोज ‘होल्ड’ गरिरहेको छ । तर, अब ‘एनिमल’ आउँदा चौंथो हप्तामा फिल्मको धेरै शोज खोसिनेमा दुईमत छैन । र, त्यसको प्रभाव व्यापारमा पर्नेछ । बक्स अफिसमा तेस्रो हप्तासम्म पकड बनाएको ‘दिमाग खराब’लाई ‘एनिमल’सँगको प्रतिस्पर्धा ‘टाइगर ३’भन्दा चुनौतीपूर्ण मानिएको छ ।