‘नाङ्गो गाउँ’को सफलतापछि निर्देशक दीपेन्द्र लामाले अभिनेता दयाहाङ राईलाई लिएर फिल्म ‘दुःखी आत्मा’ बनाउने भएका छन् । उनीहरुबीच तेस्रो पटक सहकार्य हुन लागेको हो । यसअघि फिल्म ‘घामपानी’मा पनि उनीहरुको टिमअप भएको थियो । क्लक वर्क क्रियशनको ब्यानरमा हिमाल कडरिया निर्माता रहने फिल्मको यस वर्षको अन्त्यतिरबाट छायांकन सुरु गरिने जनाइएको छ ।
फिल्मको मुख्य भूमिकामा दयाहाङबाहेक अरु कलाकार निश्चित भइसकेका छैनन् । स्क्रिप्ट लेखन अन्तिम चरणमा रहेको फिल्ममा निर्देशक लामा स्वयंकै लेखन छ । फिल्मको कथासारबारे स्पष्ट पार्दै दीपेन्द्र भन्छन्, ‘बाहिर हामी सबैको मुहार हसिलो देखिए पनि भित्रभित्रै कति दुःखी भइरहेका हुन्छौं, त्यही अवस्थालाई प्रतिकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं । फिल्म हास्यप्रधान रहनेछ ।’
काठमाडौं वरिपरि छायांकन गरिने फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ । सुदीप ढकाल प्रोडक्सन म्यानेजर रहेको फिल्ममा अधिकांश प्राविधिक टोली ‘नाङ्गो गाउँ’कै हुनेछ । निर्देशक लामा र निर्माता कडरियाबीच ‘दुःखी आत्मा’पछि एक बेनामे फिल्मसँगै ‘नाङ्गो गाउँ २’मा पनि सहकार्य हुँदैछ । निर्देशक लामाले ‘छ माया छपक्कै’ जस्तो सुपरहिट फिल्म पनि निर्देशन गरिसकेका छन् ।