जब निर्देशक सन्दीप रेड्डी भांगाले आफ्नो सुपरहिट फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबीर सिंह’मा अभिनेता शाहिद कपूरलाई काष्ट गर्ने निर्णय गरेका थिए, त्यसबेला उनको कास्टिङलाई लिएर प्रश्न उठेको थियो । तर, शाहिद निर्देशक भांगाको पहिलो रोजाई भने थिएनन् । सुरुमा उनले अभिनेता रणवीर सिंहलाई फिल्म अफर गरेका थिए । तर, उनले डार्क फिल्म भन्दै काम गर्न मानेनन् ।
सन्दीपले हालै एक अन्तर्वार्तामा भनेका छन्, ‘मलाई रिमेकका लागि तारन्तार मुम्बईबाट कल आइराखेको थियो । सबैभन्दा पहिला यो फिल्मका लागि मैले रणवीर सिंहलाई अफर गरेको थिएँ । मलाई उनीसँग काम गर्न मन थियो । तर, उनले फिल्मको थिमलाई डार्क भनेर काम गर्न चाहेनन् ।’ रणवीरले अस्वीकार गरेपछि उनलाई ‘अर्जुन रेड्डी’को रिमेक बनाउन सकिन्छ भन्ने लागेको थिएन ।
ओरिजिनल फिल्म हिट भएकाले हिन्दी रिमेक फ्लप भए लज्जास्पद हुन्छ भन्ने डर पनि उनमा थियो । निर्देशक भांगाले भनेका छन्, ‘रणवीरपछि मैले शाहिदलाई अप्रोच गरेँ । तर, प्रायः यो कास्टिङको विरुद्धमा नै थिए । मलाई धेरैले शाहिदलाई लिएर किन फिल्म बनाउन लागेको भनिरहेका थिए । रणवीरलाई लिन धेरैको आग्रह थियो । तर, म शाहिदले पनि राम्रो गर्नेछन् भन्नेमा विश्वस्त थिएँ ।’
सन् २०१९ मा प्रदर्शनमा आएको ‘कबीर सिंह’ भारतीय बक्स अफिसमा जबर्जस्त हिट भयो । फिल्मले विश्वभर ३ सय ८० करोडको कमाई गरेको थियो । र, यही फिल्मले शाहिदको संकटमा रहेको करिअरलाई पुर्नजीवन दिएको थियो । अब सन्दीपको नयाँ फिल्म ‘एनिमल’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मको चर्चा हेर्दा व्यावसायिक सफलताको सम्भावना प्रवल देखिएको छ ।