फिल्म ‘साङ्लो’ रिलिजको ४ वर्षपछि ‘एक्सन स्टार’ विराज भट्टले नयाँ फिल्मको घोषणा गरेका छन् । बिहीबार फेसबुकमा एक थिम पोस्टर सार्वजनिक गर्दै फिल्म ‘१२ गाउँ’को निर्माण घोषणा गरेका हुन् । पोस्टरको पृष्ठभूमिमा गाउँलाई चित्रित गरिएको छ । विराज स्वयंको निर्देशन रहने फिल्म एक्सन-थ्रिलर कथामा बन्नेछ । विराज भट्ट फिल्म प्रडक्सनको ब्यानरमा फिल्म निर्माण हुनेछ ।
विराजले ‘साङ्लो’लाई पनि आफैंले निर्देशन गरेका थिए । फिल्ममा उनकै मुख्य भूमिका थियो । यही फिल्मबाट उनले ४ वर्षपछि नेपाली फिल्ममा कमब्याक गरेका थिए । त्यसअघि भोजपुरी फिल्ममा उनको व्यस्तता थियो । ‘साङ्लो’ले घरेलू बक्स अफिसमा सन्तोषजनक व्यापार गरेपछि विराजले ‘साङ्लो २’ निर्माणको संकेत गरेका थिए । तर, अब उनले ‘१२ गाउँ’ बनाउन लागेका छन् ।
सन्तोष सरकारको कथा तथा पटकथा रहेको फिल्ममा विराज स्वयं मुख्य भूमिकामा देखिनेछन् । बाँकी कलाकार र प्राविधिक भने केही दिनमा टुंगो लाग्ने जनाइएको छ । यो फिल्मबाट विराजले आफ्नो जेठा छोरालाई हिरोको रुपमा डेब्यू गराउन लागेको चर्चा छ । यस वर्ष छायांकन गरेर अर्को वर्ष रिलिजको तयारी गरिएको फिल्ममा अहिलेसम्मकै उच्च स्तरीय एक्सन हुने विराजको दाबी छ ।