कुनै बेला नेपाली फिल्ममा अभिनेता राजेश हमालको जुन खालको व्यस्तता थियो, त्यो यतिबेला दयाहाङ राईमा सरेको छ । यसैले त उनलाई ‘दोस्रो राजेश हमाल’ भन्न थालिएको छ । एउटै सेड्युलमा ३/४ वटा फिल्म छायांकन हुने हो भने पनि अहिले उनलाई भ्याइनभ्याइ हुनेछ । अबको एक वर्षका लागि उनको सेड्युल ‘प्याक’ छ । तर, पनि हप्तैपिच्छे नयाँ फिल्म साइन गरिरहेका छन् ।
यही बुधबार उनले दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘दुःखी आत्मा’मा काम गर्न लागेको खबर बाहिरिएको छ । यसबीच, उनी एक नयाँ फिल्ममा पनि अनुबन्ध भएका छन् । राष्ट्रिय अवार्ड विजेता दिनेश राउतको आगामी फिल्म ‘गाउँ नै रमाइलो’मा उनले अभिनय गर्न लागेका हुन् । यही मंसिर १३ गते चलचित्र विकास बोर्डमा दर्ता भएको फिल्ममा दयाहाङसँगै प्रेसा कार्कीको नाम छ ।
‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले फिल्म निर्माण गर्नेछन् । निर्देशक राउत यतिबेला फिल्म ‘पूजार सार्की’को तयारीमा छन् । यसपछि उनले रोहित अधिकारीको निर्माणमा बन्न लागेको फिल्म ‘छब्बीस करोड’को निर्देशन गर्नेछन् । यो फिल्ममा दीपकराज गिरी समुहको सहकार्य हुने सम्भावना छ । यसपछि मात्र निर्देशक राउत ‘गाउँ नै रमाइलो’को तयारीमा जुट्ने जानकारी प्राप्त छ ।
उनी ‘प्रकाश’पछि गायक स्वप सुमन र गायिका दिक्षिता कार्कीलाई लिएर एक लभस्टोरी फिल्म बनाउने तयारीमा थिए । तर, केही कारणले उक्त फिल्म रोकिएको छ । उनले अभिनेताद्वय आर्यन सिग्देल र प्रदीप खड्कालाई लिएर एक बायोपिक फिल्मको पनि निर्माण गर्दैछन् । अभिनेता पल शाहको एक फिल्म पनि उनले नै गर्नुपर्नेछ । यसरी हेर्दा निर्देशक राउतलाई भ्याइनभ्याइ देखिन्छ ।