‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त निल निर्देशित फिल्म ‘सलार’को ट्रेलर सार्वजनिक गरिएको छ । पाँच भाषामा एकसाथ युट्युबमा सार्वजनिक गरिएको ट्रेलरको लम्बाई ३ मिनेट ४७ सेकेण्ड छ । ‘केजीएफ’कै ‘कलर टोन’मा तयार भएको ट्रेलरमा अभिनेता प्रभास एक्सन अवतारमा प्रस्तुत छन् । तर, दर्शकहरुले जुन प्रकारको एक्सन अपेक्षा गरेका थिए, त्यसमा भने ट्रेलर चुकेको भान हुन्छ ।
ट्रेलरमा प्रभासभन्दा अभिनेता पृथ्वीराज सुकुमारन बढी हाबी देखिन्छन् । फिल्ममा उनको प्रभावशाली भूमिका रहेको छनक मिल्छ । प्रभासको अपोजिटमा रहेकी अभिनेत्री श्रुति हासन भने २ सेकेण्डमा खुम्चिएकी छन् । निर्देशक निलका अनुसार, फिल्म दुईजना साथीको कहानीमा आधारित छ, जो सबैभन्दा ठूलो दुश्मन बन्न पुग्छन् । ट्रेलरले फिल्मप्रति दर्शकको उत्साह बढाउने निश्चित छ ।
‘सलार’लाई पहिलो पार्ट भनिएको छ । अर्थात् यसको दोस्रो श्रृंखला पनि निर्माण हुनेछ । निर्देशक निलकै कथा तथा पटकथा रहेको फिल्ममा जगपति बाबू, टीनू आनन्द, एअस्वरि राव, श्रिया रेड्डी, रामाचन्द्र राजुलगायतको पनि अभिनय रहेको छ । यही डिसेम्बर २२ मा विश्वभर एकसाथ रिलिज हुन लागेको फिल्मको भिडन्त बलिउड अभिनेता शाहरुख खान अभिनीत फिल्म ‘डंकी’सँग हुँदैछ ।