फिल्म ‘बुलबुल’बाट निर्देशनमा धाप पाएका विनोद पौडेलले आफ्नो निर्देशनमा बन्ने दोस्रो फिल्मको घोषणा गरेका छन् । नेपालीमा ‘भूठान’ र अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ शीर्षक राखिएको फिल्मको आइतबार दुईवटा क्यारेक्टर पोस्टर समेत सार्वजनिक गरिएको छ । फिल्ममा मुख्य भूमिकामा अनुबन्धित भएका अभिनेता हरिवंश आचार्य खुसी र दु:खी भावमा पोस्टरमा चित्रित छन् ।
आचार्यसँगै पोस्टरमा अभिनेता दयाहाङ राई पनि प्रस्तुत छन् । पहिलोपटक हरिवंश र दयाहाङले एकसाथ काम गर्न लागेका हुन् । अमेरिकामा छायांकन हुने फिल्ममा अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन र विमल सुवेदीको पनि अभिनय रहनेछ । फिल्ममा हलिउडका एक नामी कलाकारलाई पनि अनुबन्ध गर्न लागिएको जनाइएको छ ।
राजेन्द्र ठकुराठी, अमिताभ जोशी र अविरल थापा निर्माता रहेको फिल्ममा भारतीय अभिनेता अनुपम खेरले पनि अभिनय गर्ने तय थियो । तर, स्क्रिप्ट लेखनको चरणमा चरित्र र कथावस्तुलाई लिएर उनको हस्तक्षप बढ्यो । यसपछि निर्देशक पौडेलले सहमतिमा नै उनीसँगको सहकार्य तोडेका थिए । यो फिल्म सन् २०१९ मा वुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा समेत छानिएको थियो ।
एल. एन अधिकारी र कौशिला खनाल कार्यकारी निर्माता रहेको फिल्ममा दीपक गजमेर लाईन प्रोड्युसरमा छन् भने सन् २०१७ मा हलिउडको ‘ला ला ल्याण्ड’ फिल्मबाट अस्कर जितेका स्टार झाउ पनि एसोशियट निर्मातामा छन् । शैलेश मैनाली, दिपक दस्नामी, मनोरथ खनाल, रविन पोख्रेल, प्रदीप शर्मा (बडाईं) ,राजु पौडेल, संजीव भार श्रेष्ठ र नवराज पराजुलीको भने सह-निर्माण रहनेछ ।
नेपाली र अंग्रेजी भाषामा बन्ने फिल्मको छायांकन सन् २०२४ को अन्तिमसम्म भ्याएर सन् २०२५ तिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको छ । फिल्ममा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सुर्य शाहीको कास्टिङ्ग, विमल सुवेदीको प्रोडक्सन डिजाइन तथा बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ ।