अभिनेता पल शाहले एक वर्ष जेल जीवनपछि अभिनयमा कमब्याक गरेको फिल्म ‘मायावी’को छायांकन पूरा भएको छ । मुस्ताङ र पोखराका विभिन्न रमणीय स्थानमा ६० दिन छायांकन भएपछि फिल्म प्याकअप भएको हो । सो अवसरमा निर्माण पक्षले केक काटेर खुशी साटेको थियो । चाँडै फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ ।
दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा पलसँगै दीपिका प्रसाईं (भट्टराई), प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, सुशील सिटौला, समिम खान, करिश्मा श्रेष्ठ, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंको पनि अभिनय छ । निर्देशक भट्टराई स्क्रिप्टलाई शतप्रतिशत उतार्ने कोशिश गरेको बताउँछन् । यो फिल्मले पलको करिअरलाई नै नयाँ उचाइँ दिने उनको विश्वास छ ।
फिल्ममा राज कटुवाल र चन्द्र पन्त निर्मातामा छन् भने सह-निर्मातामा राजु पराजुली, रमा प्रसाँई र नभ्नित झा रहेका छन् । त्यस्तै, कार्यकारी निर्मातामा प्रविन भट्टराई र करण सिंह छन् । सहयोगी निर्माता अम्बरीश कश्यप हुन् । फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत तथा राम अविरलको गीत रचना छ । कमब्याक फिल्म भएकाले पललाई ‘मायावी’ सफल हुनैपर्ने दबाब छ ।