लभस्टोरी फिल्ममा रुचाइएका दुई सुपरस्टार आर्यन सिग्देल र प्रदीप खड्का पहिलोपटक फिल्ममा एकसाथ देखिने भएका छन् । निर्देशक दिनेश राउतले आफ्नो नयाँ फिल्म ‘पूजार सार्की’मा दुवैलाई मुख्य भूमिकामा प्रस्तुत गर्न लागेका हुन् । उनले आइतबार दुवैसँगको तस्बीर फेसबुकमा सेअर गर्दै सहकार्य पुष्टि गरे । आर्यन र प्रदीपको प्रवेशले फिल्मको ‘स्टारकास्ट’ बलियो बनेको छ ।
उनीहरुले निर्देशक राउतसँग यसअघि फिल्ममा काम गरिसकेका छन् । आर्यन त उनका संघर्षकालदेखिका साथी हुन् । ‘आई एम सरी’, ‘क्लासिक’ र ‘नोभेम्बर रेन’ गरी तीन फिल्ममा उनीहरुको सहकार्य भैसकेको छ । प्रदीपलाई भने राउतले ‘प्रकाश’मा लिएका थिए । अब उनी यी दुवै नायकलाई लिएर फिल्म बनाउन कसिएका छन् । फिल्मका लागि अभिनेत्रीको भने टुंगो लाग्न बाँकी नै छ ।
संगीतकार सुभाष भुषालको निर्माण रहने फिल्मका लेखक विकास सुवेदी हुन् । सुवेदीसँग निर्देशक राउतको यसअघि ‘प्रकाश’मा सहकार्य भएको थियो । वास्तविक कथा र पात्रबाट प्रभावित भएर बन्न लागेको फिल्मको छायांकन आगामी माघदेखि सुरु हुनेछ । एउटा कम्युनिष्ट व्यक्तिले जातिय समानताको लागि कसरी आफूलाई सार्कीमा बदल्छ भन्ने विषयमा आधारित भएर फिल्म बन्नेछ ।