नेपाली कलाकारलाई लिएर नेपाली र तेलुगू भाषामा निर्माण भएको फिल्म ‘हिटम्यान’को टिजर र पोस्टर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको पोस्टर रोमान्टिक थिममा तयार छ भने टिजरले एक्सन बोल्छ । पोस्टरमा अभिनेत्री आँचल शर्मा र अभिनेता बिष्णु अधिकारी रोमान्टिक अवतारमा चित्रित छन् । टिजरमा भने आँचल गायब छिन् ।
बिष्णु स्वयंले फिल्मको निर्देशन गरेका हुन् । नेपाली, हिन्दी, तेलुगू, तमिल, कन्नाडा, मलयालम, अरबी, चाईनिजसहित दश भाषामा एकसाथ रिलिज गर्न लागिएको फिल्ममा प्रशान्त ताम्राकार र मिलन सिजापतिसँगै भारतीय अभिनेत्री अदिती शर्माको पनि अभिनय रहेको छ । काठमाडौं, पोखरा, भारत, फ्रान्सको पेरिसमा छायांकन भएको ‘हिटम्यान’ दुईटा श्रृंखलामा निर्माण हुने बताइएको छ ।
आँचलले तेलुगू भाषामा फिल्म बनेता पनि आफूले नेपाली भाषामा नै संवाद बोलेको बताएकी छन् । विष्णुले भने फिल्मको चरित्रमा फिट हुने भएकाले आँचललाई लिएको बताए । फिल्मले नेपालको सुन्दरता प्रस्तुत गर्ने उनको भनाई छ । विश्वकै प्रतिष्ठित ओटीटी प्लेटफर्म अमेजन प्राइमले फिल्म किनिसकेको पनि उनको दाबी छ । हल रिलिजपछि मात्र फिल्म ओटीटीमा आउने उनले बताए ।
९९ सिनेमाज् तथा इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा दिपक अधिकरी निर्माता र सन्नी लावती सह-निर्मातामा छन् । फिल्ममा निर्देशक अधिकारी स्वयंको लेखन छ । मन्त्र आनन्दको संगीत, बी नागेश्वर रेड्डीको सम्पादन, वाइआर शेखरको छायांकन रहेको फिल्म लभस्टोरी-एक्सन कथावस्तुमा बनेको छ । फिल्म उत्कृष्ट बनेको निर्देशक अधिकारीको दाबी छ ।