कुनै बेला म्यूजिक भिडियोमा राम्रो जमेका मोडल हुन्, आयुब केसी । उनले फिल्मसम्मको यात्रा पनि तय गरे । ‘ठेगाना’, ‘म तिम्रो भैसकेँ’, ‘पँलास’, ‘चाँडै आउ है’ लगायत एक दर्जन बढी फिल्ममा उनले अभिनय गरिसकेका छन् । तर, विगत केही वर्षयता उनी न फिल्म न म्यूजिक भिडियोमा देखिएका छन् । यसबीच, उनले आफूलाई मेकरले भिलेनमा समेत नपत्याएको गुनासो गरेका छन् ।
सोमबार फेसबुकमा निराशाजनक स्टाटस लेख्दै उनले १० वर्ष यो क्षेत्रमा विताउँदा पनि उपलब्धि शून्य रहेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘अरे यार हिरो खेलाओ भन्या पनि हैन, भिलेन नै देओ न । त्यो पनि पत्याएनन् । १७ वर्ष यो पेशामा लागेँ, कुनै कसर नछाडि । तर उपलब्धि शून्य जस्तो ।’ आयुबले समय परिवर्तन भए पनि आफूभित्रको कला झन् निखारिएर आएको बताएका छन् ।
सबैलाई समेटेर राम्रो फिल्म बनाउन उनको आग्रह छ । अहिले एउटै कलाकार र एकै किसिमको कथामा फिल्म बनिरहेको उनको बुझाई छ । भए जति फिल्म साइन गर्दा कलाकारहरुले लुकमा मिहिनेत गर्न समय नपाएको र मेकरहरुले पनि जो जस्तो चलेको छ त्यस्तै कथा बनाउने गरेको उनको आरोप छ । अभिनेता केसीले कथाको अभाव भए आफूसँग खानी रहेको पनि दाबी गरेका छन् ।
आयुबले अब आफू पलायन हुने स्टाटसमा उल्लेख गरेका छन् । उनी फेसबुकमा अगाडि लेख्छन्, ‘कलाकारहरुले आत्महत्या त्यसै गरेका होइन रहेछन् । देश छोडेका त्यसै होइन रहेछन् । पीडा भएर नै होला । ठिकै छ म एउटा कराएर पिना नसुक्ने होइन । आफैं कमाउनु लाग्छु अब । यत्तिका गएका छन्, म एउटा जाँदा के नै कमी होला । ५० वर्षमा कमब्याक गर्छु । आफैं बनाउँछु ।’