नेपाली फिल्म निर्देशनमा उदय सुब्बाले जीवनको आधाउधी उमेर विताइसकेका छन् । राजेश हमालदेखि जीवन लुईंटेलसम्मलाई निर्देशन गरिसकेका उनी अहिले पनि निर्देशनमा सक्रिय छन् । यही मंसिर २९ गते उनी निर्देशित नयाँ फिल्म ‘दुई कदम’ प्रदर्शनमा आउँदैछ । यसपटक उनले दुई नयाँ कलाकारलाई मुख्य भूमिकामा प्रस्तुत गरेका छन् । यो कथाकै माग रहेको उनको भनाई छ ।
निर्देशक सुब्बा भन्छन्, ‘कथाको कन्सेप्टले गर्दा पनि फिल्ममा नयाँ कलाकार लिएको हुँ । चलेका कलाकार लिँदा उसले यो भूमिका गर्न सक्छ भन्ने दर्शकहरुलाई पहिल्यै थाहा भैसकेको हुन्छ । ‘दुई कदम’को कथा चाहिँ एकदमै नयाँ छ । यसैले नयाँ कलाकारहरु लिँदा उपयुक्त हुन्छ भन्ने मलाई लागेको हो । किनकि, पुरानोले भन्दा नयाँ कलाकारले कथामा नयाँपन दिन्छन् भन्ने मलाई लाग्छ ।’
अभिनय क्षमता हेरेरै आफूले फिल्ममा नयाँ कलाकार लिएको पनि उनले बताए । फिल्मको कथामा भेराइटी रहेको उनको दाबी छ । ‘फिल्ममा मैले पूर्वदेखि पश्चिमसम्मको सुन्दर दृश्यहरु कैद गरेको छु,’ उनी भन्छन्, ‘कथामा पनि दर्शकले भेराइटी पाउनुहुन्छ । फिल्ममा हुने रोदन, द्वन्द्व, कमेडी, प्रेम, विछोड सबै छ । लिम्बू समुदायको संस्कृतिलाई पनि फिल्ममा उतार्ने कोशिश गरेको छु ।’
फिल्ममा प्रेमकथा र सामाजिक कथाको मिश्रण गरेको पनि उनले स्पष्ट पारेका छन् । उनलाई अहिले फिल्म निर्माणमा झनै जोखिम बढेको छ भन्ने लाग्छ । उनी भन्छन्, ‘पहिला हामीले फिल्म बनाउँदा चल्दै नचल्दा पनि हलबाट थोरै आउँथ्यो । अहिले त कि झ्याप्पै आउँछ, कि आउँदै आउँदैन । ‘दुई कदम’बाट चाहिँ मलाई व्यावसायिक सफलताको आशा छ । किनकि, फिल्म राम्रो बनेको छ ।’