७ वर्ष अगाडि फिल्म ‘मन्दिरा’मा सहकार्य गरेका निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ)ले अब ‘अभेद्य’ शीर्षकमा फिल्म निर्माण गर्ने भएका छन् । २०२४ को सुरुवातसँगै छायांकन गर्न लागिएको फिल्ममा कलाकार र प्राविधिकको भने टुंगो लाग्न बाँकी छ । रोमान्स र थ्रीलर जनरामा बन्न लागेको फिल्मको यतिबेला स्क्रिप्ट लेखनको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।
दीपेशले ‘मन्दिरा’बाटै निर्देशनमा डेब्यू गरेका थिए । रेडियो प्रस्तोता हुँदै युवा हुंकार नामक म्यागेजिनको सह-सम्पादक रहिसकेका उनले थुप्रै सर्ट फिल्म र केही म्यूजिक भिडियोको पनि निर्देशन गरेका छन् । उनी निर्देशित दोस्रो फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ कोरोना महामारीको समयमा प्रदर्शनमा आएको थियो । त्यस्तै, उनको सर्ट फिल्म ‘मिरर’ले केही अन्तर्राष्ट्रिय अवार्ड जितेको थियो ।
निर्माता भट्टले भने यसअघि ‘छोरीको कर्म’, ‘सहारा’, ‘मन्दिरा’ र ‘घनचक्कर’ गरी तीनवटा फिल्मको निर्माण गरिसकेका छन् । हालै प्याराग्लाइडिङसँग सम्बन्धित डकुमेन्ट्री ‘सुवास द एक्रो पाइलट’को निर्माण गरेका उनी ‘अभेद्य’ हरेक कोणबाट उत्कृष्ट बन्ने दाबी गर्छन् । उनी निर्मित ‘मन्दिरा’ले व्यावसायिक सफलता हासिल नगरेको भएपनि फरक शैलीको कथावाचनको प्रशंसा भएको थियो ।