मिति : २०८१ मंसिर १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मेरा फिल्मले ५१औं र एक दिन दुवै मनाएका छन् : उदय सुब्बा

फिल्मीखबर, काठमाडौं, 2023/12/07

udaya subba

 

उदय सुब्बा फिल्म निर्देशनमा २ दशकभन्दा बढी समयदेखि सक्रिय रुपमा छन् । उनले निर्देशन गरेका ‘लेखान्त’, ‘क्रान्ति’, ‘कार्याङ ग्याङ’, ‘कानुन’ जस्ता फिल्म व्यावसायिक रुपमा सफल मानिन्छन् । उनले निर्देशनसँगै निर्माण र अभिनयलाई पनि निरन्तरता दिँदै आइरहेका छन् । उनको २३औं निर्देशन रहेको फिल्म ‘दुई कदम’ यही मंसिर २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

उनी २३औं फिल्मसम्म आइपुग्दा पनि आफू सिक्ने चरणमा नै रहेको बताउँछन् । बुधबार काठमाडौंमा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उनले भने, ‘यो मेरो २३औं फिल्म हो । तर, म अझै पनि सिक्ने क्रममा नै छु । हामी त एनलगबाट सिक्दै आएका हौं । अहिले त तीन-तीन महिनामा प्रविधिले पनि सिक्ने बनाइदिन्छ । ‘दुई कदम’मा मैले गरेको प्रयास राम्रै भएको छ भन्ने लागेको छ ।’

निर्देशक सुब्बाले ‘क्रान्ति’देखि अभिनेता सुनिल थापासँग जुगलबन्दी गर्दै आइरहेका छन् । ‘दुई कदम’मा पनि उनीहरुबीच सहकार्य भएको छ । उनी आफ्नो लागि सुनिल थापा ‘लक्की’ मान्छन् । उनी भन्छन्, ‘मैले दाईलाई जुन फिल्ममा लिएँ, त्यसले ५१औं दिन मनायो । र, गाँठ पनि कमाएँ । उहाँको ठाउँमा आफैं खेलेको, गाँठै गुमाएँ ।’ उनको कुरामा सुनिल थापा मुर्छा परेर हाँसेका थिए ।

निर्देशक सुब्बालाई काम गर्ने क्रममा सफलता र असफलता भइरहन्छ भन्ने लाग्छ । उनी आफ्ना फिल्मले हलमा ५१औं र एक दिन मनाएको पनि स्मरण गर्छन् । ‘हाम्रो कर्म काम गर्ने हो । काम गर्दै जाने हो । सफलता र असफलता त भैरहन्छ । मेरै कुनै फिल्मले ५१ दिन मनायो । कुनै फिल्मले एक पनि मनायो । यो फिल्मले के-कस्तो गर्छ, त्यो भोलिकै दिनमा थाहा हुन्छ,’ उनले भनेका छन् ।